सिकाइ उपलब्धिमा बागमती अगाडि, कर्णाली पछाडि

नेपालगञ्ज । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले आज नेपालगञ्जमा सञ्चार संस्था तथा सञ्चारकर्मीसँग ‘सहकार्य एवं अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ ।
कार्यक्रममा केन्द्रले शिक्षा क्षेत्रमा गरिरहेको अनुसन्धान, सिकाइ उपलब्धि परीक्षण तथा आगामी योजनाबारे जानकारी गराएको थियो ।
कार्यक्रममा केन्द्रकी निर्देशक प्रमिला बखतीले शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यार्थीहरूको सिकाइ उपलब्धि परीक्षण, पठनपाठन तथा गणितीय सीप मूल्याङ्कन, सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षण, शिक्षा सम्बन्धी समसामयिक विषयमा अनुसन्धान तथा प्रारम्भिक सिकाइ र विकास स्तरमा आधारित परीक्षण जस्ता अनुसन्धानात्मक कार्य गरिरहेको जानकारी दिनुभयो ।
हालसम्मको अध्ययनमा सिकाइ उपलब्धिका आधारमा बागमती प्रदेश सबैभन्दा अगाडि रहेको छ भने कर्णाली प्रदेश पछाडि रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ । अनुसन्धानका क्रममा अभिलेख प्रणाली, सुशासन र जबाफदेहिताका पक्ष कमजोर देखिएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा केन्द्रका महानिर्देशक जयराम अधिकारीले अनुसन्धानबाट विद्यार्थीहरूको सिकाइ उपलब्धि अपेक्षाकृत कमजोर देखिएको उल्लेख गर्दै अनुसन्धान प्रक्रिया अझ वैज्ञानिक र प्रविधिमैत्री बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले आगामी आर्थिक वर्षमा नमुना परियोजनाका रूपमा देशभरका एक सय विद्यालयमा शैक्षिक गुणस्तर परीक्षण सञ्चालन गरिने पनि बताउनुभयो । सानोठिमी भक्तपुरस्थित शैक्षिक गुणस्तर परीक्षण केन्द्र शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत केन्द्रीय निकायका रुपमा रहेको छ ।
त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाईले शैक्षिक गुणस्तर परीक्षणले शिक्षा क्षेत्रको सुधार तथा प्रभावकारी योजना निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले अनुसन्धानलाई वैज्ञानिक, यथार्थपरक र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउँदै अनुसन्धानबाट प्राप्त निष्कर्ष कार्यान्वयनमा गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्