पक्की सडकमै घर निर्माण गरेपछि सडक आवागमन बन्द, सर्वसाधारणलाई सास्ती

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १७ अन्तर्गत पर्ने अलौं गाउँको सिवान टोलमा सार्वजनिक पक्की सडकमा घर निर्माण गरिएपछि सडक आवागमन बन्द भएको छ भने सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।
अलौं गाउँको मुख्य सडकबाट पूर्वतर्फ जाने तथा आईसीपीको सहायक मार्गसँग जोडिएको बाटोलाई स्थानीय जग्गाधनी अच्छेलाल साह कानुले २०७१ सालतिर प्लटिङ गरी आफ्नो नाममा बाटो देखाउँदै बिक्री वितरण गरेका थिए । सोही बाटोलाई सार्वजनिक प्रयोगमा रहेको सडक मानेर तत्कालीन वीरगंज महानगरपालिका वडा नं. १७ का वडा अध्यक्षले २०७५ मा ग्राभेलिङ गराउनुभएको र हालका वडा अध्यक्ष सञ्जीव बहादुर छतकुलीले समेत २०८० मा वडा कार्यालयकै बजेटबाट सडक पिच गर्नुभएको थियो ।
तर अहिले त्यही पिच सडकमै जग्गाधनी अच्छेलाल साह कानुले “यो मेरो नम्बरी बाटो हो” भन्ने दाबी गर्दै कच्ची घर निर्माण गरेपछि स्थानीयवासी तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणले ठूलो सास्ती भोग्नुपरेको छ । सिवान टोलका बासिन्दा मात्र होइन, विभिन्न गाउँबाट रक्सौल बजार आवतजावत गर्ने सर्वसाधारणसमेत प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
यदि उक्त बाटो निजी स्वामित्वको थियो भने वडा कार्यालयले सार्वजनिक बजेट खर्च गरेर त्यहाँ ग्राभेलिङ तथा पिच सडक निर्माण गर्ने निर्णय कुन आधारमा गर्यो ? के सडक निर्माणअघि जग्गाको स्वामित्वबारे कुनै प्राविधिक अध्ययन, नापजाँच वा कानुनी प्रक्रिया पूरा गरिएको थियो ? भन्ने सम्बन्धमा अहिले गम्भीर प्रश्न उठेको छ ।
उक्त बाटो सार्वजनिक सडक थियो भने अहिले त्यही सडकको बीच भागमा कच्ची घर निर्माण हुँदा वडा कार्यालय, महानगरपालिका र सम्बन्धित प्रशासनिक निकाय किन मौन छन् ? सार्वजनिक सम्पत्तिमाथि भइरहेको अतिक्रमण रोक्न जिम्मेवार निकायले चासो नदिनु चिन्ताको विषय भएको स्थानीयहरूको भनाइ छ।
स्थानीयवासी हरूले वडा नं. १७ का बाडा अध्यक्ष सञ्जीव बहादुर छतकुलीको भूमिकामाथि समेत प्रश्न उठाएका छन् । वडा कार्यालयकै बजेटबाट निर्माण गरिएको सडकमा घर निर्माण भइरहँदा समयमै रोकथाम नगर्नु प्रशासनिक कमजोरी मात्र नभई सार्वजनिक सम्पत्तिको संरक्षणमा गम्भीर लापरबाही भएको आरोप उनीहरूको छ ।
यस घटनाले वीरगञ्ज महानगरपालिका, वडा कार्यालय तथा सम्बन्धित प्रशासनिक निकायको जबाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको स्थानीय रोशन लामिछानेले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्