प्रतिनिधिसभा: बजेटमाथि छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले छलफल गर्नुभएको छ ।
छलफलमा भाग लिँदै सत्ता पक्षका सांसदहरुले बजेटका सकारात्मक पक्षबारे चर्चा गर्नुभयो भने विपक्षी दलका सांसदहरुले बजेटमा जनताका अपेक्षाअनुसारका कार्यक्रम नसमेटिएको धारणा राख्नुभयो । सांसद बदनकुमार भण्डारीले बजेटमा रहेको बिमाको प्रावधानले आमनागरिकको स्वास्थ्यमा ठूलो योगदान पुग्ने बताउनुभयो । साथै उहाँले बजेटमा आयकर छुट दोब्बर गरिएको, शिक्षामा बजेट वृद्धि भएको, टेलिकमको सेयर जनतामा प्रवाह गर्ने र लगानी गर्नेलगायतका सकारात्मक पक्ष रहेकाबारे चर्चा गर्नुभयो ।
सांसद पद्माकुमारी अर्यालले आमनागरिकले अपेक्षा गरेअनुसारको बजेट नआएको उल्लेख गर्दै बजेटमा केही राम्रा विषय पनि रहेको बताउनुभयो ।
सांसद सुजाता तामाङले रासायनिक मलका लागि अत्यधिक बजेट विनियोजन गरिएको उल्लेख गर्दै माटोको अवस्था सुधार गर्नुपर्ने र प्राङ्गारिक मलको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।
सांसद बोधनारायण श्रेष्ठले बजेटले विभिन्न नयाँ विषयका सुधारका कुरा क्रमभङ्गता गरेको उल्लेख गर्दै व्यक्तिगत आयकर छुट रकम वृद्धि, प्रशासनिक मितव्ययिता, नागरिक उड्डयनलाई नियामक र कार्यात्मक गरी विभाजन गरिएजस्ता सकारात्मक विषयबारे चर्चा गर्नुभयो ।
सांसद रञ्जु न्यौपानेले जनतालाई निःशुल्क उपलब्ध गराइने सेवाका लागि सरकारले कहीँ न कहीँ लागत उठाउनैपर्ने उल्लेख गर्दै त्यसका लागि बजेटमा अर्थमन्त्रीले स्पष्ट रुपमा उल्लेख गर्नुभएको बताउनुभयो । साथै उहाँले बालबालिकाका क्षेत्रमा राज्यको लगानी अझै नपुगेको भन्दै बजेटमा कर्मचारीको तलब वृद्धि, सात प्रतिशतको आर्थिक वृद्धि लक्ष्यलगायत सकारात्मक विषय रहेका बताउनुभयो ।
सांसद पुनमकुमारी अग्रवालले हरेक वर्ष रासायनिक मल अभाव हुने गरेको अवस्थामा अर्ग्यानिक खेतीका लागि प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले मुलुकमा नागरिक सरकार छ भन्ने अनुभूति हुने गरी काम गर्न सुझाव दिनुभयो । रासस






प्रतिक्रिया राख्नुहोस्