नेपाली गीतसङ्गीतमा पहिचान बनाउँदै गीतकार उप्रेती

काठमाडौँ । नेपाली गीतसङ्गीत क्षेत्रमा भावनात्मक शब्द र सरल प्रस्तुतीकरणमार्फत श्रोतामाझ परिचित बन्दै गएका गीतकार गणेश उप्रेती पछिल्लो समय पुनः चर्चामा आएका छन् । प्रेम, पीडा, समाज र मानवीय संवेदनालाई आफ्ना सिर्जनामार्फत प्रस्तुत गर्ने उनको शैलीले नयाँ तथा पुराना दुवै पुस्ताका दर्शक श्रोताको मन जितिरहेको बताउँछन्।
विशेषगरी डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालको विस्तारसँगै उनका गीतहरू दर्शकमाझ पुग्न थालेका छन्। युट्युब, फेसबुक तथा टिकटकमा उनका गीतका अंशहरू व्यापक रूपमा प्रयोग हुन थालेपछि युवा पुस्ताले पनि उनका सिर्जनालाई नजिकबाट सुन्न तथा हेर्न थालेका छन्।
सङ्गीत क्षेत्रमा उप्रेतीका गीतमा नेपाली समाजको वास्तविकता, प्रेमको गहिराइ र जीवनका सङ्घर्षहरूलाई सहज भाषामा व्यक्त गरिएको पाइन्छ। यही कारण उनका गीतले श्रोतासँग भावनात्मक सम्बन्ध स्थापित गर्न सफल हुने गरेको उनी बताउँछन्।
उनले लेखेका धेरै गीतमा माया प्रेमका भावना मात्र नभई पारिवारिक सम्बन्ध, सामाजिक अवस्था र मानवीय अनुभूतिको चित्रण समेत भेटिन्छ। श्रोताहरूले उनका गीतलाई “मन छुने शब्द” र “सुन्दा आफ्नै कथा जस्तो लाग्ने सिर्जना” भनेर प्रतिक्रिया दिने गरेका छन्।
पछिल्लो समय नेपाली सङ्गीत क्षेत्रमा आधुनिक शैली र तीव्र गतिका गीतहरूको प्रभाव बढिरहेका बेला गणेश उप्रेतीले शब्दप्रधान तथा भावनात्मक गीतमार्फत आफ्नो अलग पहिचान कायम राख्न सफल भएको उनका सहकर्मी हरूको भनाइ छ। उनका गीतहरू एफ।एम।,रेडियो, स्टेज कार्यक्रम तथा अनलाइन प्लेटफर्ममा निरन्तर बजिरहँदा नयाँ तथा पुराना पुस्ताले पनि नेपाली गीतको स्वाद अनुभव गर्न पाएका छन्।
एक दशक देखी गीत सङ्गीतमा क्रियाशील रहेका गणेश उप्रेतीको हालसालै सिन्दूर गीत सार्वजनिक भएको तथा तीज गीत “ए साथी सँगी हो” लगायत “तिम्रो दिलको”“लगन जुरेर” “लाइदेऊ माया” “नजर को गुलेली” “जाले रुमाल ” “दिल यहाँ ”जस्ता दर्जन बढी चर्चित आधुनिक गीतहरू यस अघि नै सार्वजनिक भैसकेका छन् ।
साङ्गीतिक यात्रालाई निरन्तरता दिँदै आएका गीतकार उप्रेतीले आगामी दिनमा पनि नयाँ सिर्जना ल्याउने तयारी गरिरहेको उनको भनाई छ। नेपाली गीतसंगीतप्रेमीहरू भने उनका आगामी सिर्जनाको प्रतीक्षामा रहेका छन्।








प्रतिक्रिया राख्नुहोस्