सडक, विपद् र भूकम्प पीडितका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सडक दुर्घटना न्यनिकरण, ट्रमा नीतिको आवश्यकता, विपद् जोखिम न्युनिकरणका, भूकम्प पीडितका लागि आवासको व्यवस्था, वित्तीय समानीकरण अनुदानमा कटौती लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद तोसिमा कार्कीले सडक दुर्घटना न्युनिकरणका गर्न र राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न माग गर्नुभयो ।
उहाँले दैनिक औसत ८ जनाका दरले बर्सेनि ३ हजारले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको भन्दै सडक दुर्घटनालाई राष्ट्रिय जनस्वास्थ्य संकट घोषणा गरी हरेक दुर्घटनाको वैज्ञानिक विश्लेषण गर्न र दीर्घकालीन नीति बनाउन आवश्यक रहेको औँल्याउनुभयो ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति जबाफदेही बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अघिल्लो सरकारले किन गरेन भन्ने तिर नलागी कार्यगत योजनाले मात्रै थिति बसाल्न सक्ने भएकाले परिणाम दिनसक्ने गरी काम गर्न र संसद् र नागरिकप्रति जिम्मेवार बन्न सरकारलाई अनुरोध गर्नुभयो ।
उहाँले मनसुन सुरु हुन थालेकाले मनसुनले तराई मधेश लगायत मुलुकका विभिन्न भागमा पार्न सक्ने क्षति र जनधनको सुरक्षाका लागि समयमा नै काम गर्नुपर्ने बताउनुभयो ।
नेकपा एमालेका सांसद पद्मा अर्यालले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक र दोहोरो कर तत्काल घटाई जनतालाई इन्धन र ग्यासमा प्रत्यक्ष राहत दिन माग गर्नुभयो ।
उहाँले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, विपन्न र विद्यार्थीका लागि विशेष सहुलियत प्रणाली लागु गर्नुपर्ने, ढुवानी भाडा नियन्त्रण गर्नुपर्ने, गरिब, श्रमिक र मध्यम वर्गलाई लक्षित गरी विशेष राहत प्याकेज नगद सहायता वा अति उपभोग्यबस्तुमा सहुलियतको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले लामो समय बित्दासमेत जाजरकोट भूकम्प पीडितको पुनर्स्थापना हुन नसकेको भन्दै रुकुम पश्चिम लगायतका भूकम्प पीडितलाई सुरक्षित आवासको व्यवस्था गर्न माग गर्नुभयो
उहाँले सरकार संविधान र कानुनको उल्लङ्घन गर्दै निरङ्कुश र अहङ्कारी मार्गमा हिँडेको आरोप लगाउँदै जनताले भोगिरहेको पिडा र समस्याप्रति सरकार गम्भीर र संवेदनशील बन्न नसकेको बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक खुस्बु ओलीले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्दै आएको वित्तीय समानीकरण अनुदानमा कटौती गरेको विषयमा विरोध गर्नुभयो ।
उहाँले संविधानले नै स्पष्ट रुपमा गरेको व्यवस्था विपरीत सरकारको हस्तक्षेपले संवैधानिक संस्थाको स्वायत्तता र औचित्यततामाथि प्रश्न खडा गरेको बताउनुभयो ।
स्वतन्त्र सांसद महावीर पुनले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको र ट्याक्सी व्यवसायी र मजदुरहरू चर्को शोषणमा परेको दाबी गर्नुभयो ।
उहाँले किसानलाई दुःख दिइरहेको बाँदर आँतक नियन्त्रण गर्न आवश्यक रहेको भन्दै त्यसको नियन्त्रणका लागि अनुसन्धान र उपाय खोजी आवश्यक रहेको बताउनुभयो ।
सांसदहरुले मनसुन शुरु हुन लागेको र यस वर्ष सरदरभन्दा कम वर्ष हुने अनुमान गरिएकाले धान रोप्ने समयमा पानी नपर्दा किसान र देशका लागि ठूलो असर पर्ने भन्दै कम पानीमा रोप्ने धान र बिउँ किसानसम्म पुर्याउन माग गर्नुभयो ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसदहरुले आजको बैठकमा उठाउनुभएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्