सिँचाइ सुविधा पुगेपछि बालापुरका किसान व्यावसायिक खेतीतर्फ आकर्षित
बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका–८ बालापुरमा लिफ्ट सिँचाइमार्फत खेतबारीमा पानी पुग्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन आएको छ । केही वर्षअघिसम्म आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले बाह्रै महिना हराभरा खेतबारीमा व्यस्त देखिन्छन् ।
राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजना अन्तर्गत पश्चिम मूल नहरबाट लिफ्ट प्रणालीमार्फत सतही सिँचाइ सुविधा पुगेपछि बालापुरका किसान बेमौसमी तथा व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् ।
पश्चिम मूल नहर र बाँके राष्ट्रिय निकुञ्ज बीचमा पर्ने बालापुर क्षेत्रमा पहिले दुई बाली लगाउनसमेत कठिन हुने अवस्था थियो । अहिले भने गाउँभरिका खेतबारी वर्षभरि हरियाली देखिन थालेका छन् ।
बालापुर लिफ्ट सिँचाइ कृषक समूहका अध्यक्ष लोकबहादुर खत्रीले सिँचाइ सुविधा किसानका लागि वरदान सावित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिला खेतीबाट खान पनि पुग्दैनथ्यो, अहिले भने खान पुगेर बचतसमेत गर्न सकेका छौँ । दुई वर्षदेखि लिफ्ट सिँचाइको पानी आउन थालेपछि पहिले बाँझो रहने खेत अहिले सधैँ हरियो हुन्छ ।”
स्थानीय किसान उमा देवकोटाले आकाशे पानीको भरमा खेती गर्दा उत्पादनले परिवार धान्न कठिन हुने गरेको स्मरण गर्दै अहिले तीन बाली उत्पादन गर्न सकिने अवस्था बनेको बताउनुभयो ।
उहाँले किसानका खेतसम्म पानी वितरणका लागि थप ‘प्वाइन्ट’ व्यवस्थापन गरिदिन आयोजनासँग आग्रह गर्नुभयो ।
देवकोटाले भन्नुभयो, “सिक्टा नहरको पानी हाम्रो लागि होइन जस्तो लाग्थ्यो, तर हामी गलत रहेछौँ । आयोजनाले लिफ्ट प्रविधिबाट भए पनि खेतसम्म पानी पुर्यायो ।”
सिक्टा सिँचाइ आयोजनाका संस्थागत विकास शाखाका अर्जुन न्यौपानेका अनुसार सतही सिँचाइ पुग्न नसक्ने क्षेत्रमा लिफ्ट प्रविधिमार्फत पानी पुर्याउने काम भइरहेको छ ।
उहाँले पश्चिम र पूर्वी नहर आसपासका विभिन्न स्थानमा लिफ्ट प्रणाली विस्तार भइरहेको जानकारी दिनुभयो ।
आयोजनाका अनुसार सिक्टा सिँचाइ आयोजनाबाट करिब ४३ हजार हेक्टर जमिनमा सतही सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ । हालसम्म २२ हजार ५ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भइसकेको छ ।
सतही सिँचाइ नपुग्ने १६ स्थानमा लिफ्ट प्रणालीमार्फत पानी पुर्याउने योजनाअनुसार पश्चिम नहर क्षेत्रमा चार वटा आयोजना सञ्चालनमा आइसकेका छन् भने पूर्वी नहरमा ११ र पश्चिम नहरमा एक स्थानमा निर्माण कार्य जारी रहेको आयोजनाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्