सहिद कपमा महिला टि–२० क्रिकेट : आजका खेलमा सिरहा र पर्सा विजयी
जनकपुरधाम । जनकपुरधाममा जारी सहिद कप महिला टी–२० क्रिकेट लिग प्रतियोगितामा अन्तर्गत आज भएका खेलमा सिरहा र पर्सा जिल्ला विजयी भएका छन् ।

जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रङ्गशालामा मधेश प्रदेश, खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आज भएको खेलमा महोत्तरी महिला क्रिकेट टिमलाई पर्सा जिल्ला महिला क्रिकेट टिमले १० विकेटले पराजित गरेको छ ।
पहिलो व्याटिङ्ग गरेको महोत्तरी क्रिकेट टिमले २० ओभरको खेला ८ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । महोत्तरीका तर्फबाट आरती महतो ५२ रन, सीमा कनवार १५ रन र विमला वलमपाकी १४ रन बनाएका थिए । पर्साका तर्फबाट सीवानी साहले ३ विकेट लिएकी थिइन् ।
१३४ रनको लक्ष्यसहित खेल मैदानमा उत्रिएका पर्सा महिला क्रिकेट टिमले १० ओभरमा विना कुनै विकेटको क्षतिमा १३५ रन बनाउँदै विजयी भयो । पर्साका तर्फबाट सीवानी साह र साना प्रवीणले विष्फोटक व्याटिङ्ग गरेका थिए । सीवानीले १० चौकाको मद्दतले ७३ र सानाले ४ चौकाको मद्दतले ४४ रन बनाएका थिए ।
यसै गरि आजै भएको दोस्रो खेलमा सिराहाले रौतहटलाई ४१ रनले पराजित गरेको छ । सिराहाले २० ओभरमा ५ विकेटको क्षतिमा १२७ रन बनाएको थियो । १२८ रनको लक्ष्यसहित व्याटिङ्ग गरेको रौतहटले ८६ रन मात्र बनाउन सक्यो ।
सिरहाका तर्फबाट मिना महतोले २०, अनुराधा चौधरीले २४, आरती चौधरी १२ र श्वेता लामाले ३१ रन बनाएका थिए । रौतहटका तर्फबाट मनिका साहले १, प्रतीक्षा सिंहले २ विकेट लिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्