तपाईँ सुन्दै हुनुहुन्छः

आलु पकेट क्षेत्रका किसानलाई शीत भण्डारको सास्ती: लाखौँका संरचना अलपत्र, बीउ राख्न डडेल्धुरा धाउनुपर्ने बाध्यता

बैतडी। बैतडीको पाटन नगरपालिका वडा न-८, ९ र १० लाई आलुको ‘पकेट क्षेत्र’ मानिन्छ।

यहाँका रैथाने किसानहरू व्यावसायिक आलु र बेमौसमी तरकारी खेतीबाटै आत्मनिर्भर बनेका छन् र वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन्।

पाटन–८ का अगुवा किसान केशव बिष्ट भन्नुहुन्छ, “आलु खेती र सिजन अनुसारका अन्य तरकारी बालीबाट मात्रै वर्षमा १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ। यसले हाम्रो जनजीविका नै बदलिदिएको छ।” यस वर्ष समय–समयमा पानी परेकाले विगतको तुलनामा आलु उत्पादन अझ राम्रो हुने आशामा किसानहरू छन्।

कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार बैतडीबाट मात्रै वार्षिक डेढ देखि दुई करोड रुपैयाँसम्मको आलु बाहिर निर्यात हुने गरेको छ। “यो वर्ष मौसमले साथ दिएकाले आलु उत्पादनमा विगतभन्दा झन्डै २० प्रतिशतले वृद्धि हुने अनुमान गरेका छौँ,” प्रमुख जोशीले भन्नुभयो।

यस क्षेत्रमा शिद्देश्वर बृहत् आलु क्षेत्र विस्तार कार्यक्रम नै घोषणा गरेर व्यावसायिक आलु एवं अन्य सिजनल तरकारी खेती गरिरहेका किसानहरू सिँचाई र शीतभण्डारको अभावमा मारमा छन् ।  यस क्षेत्रमा एउटा कोल्ड स्टोर छैन, आलुको बीउ राख्नको लागि यहाँबाट डडेल्धुरा लैजानु पर्ने बाध्यता रहेको महरा बताउनुहुन्छ । 

प्रदेश र संघीय सरकारको लगानीमा पाटन–८ खोड्पे क्षेत्रमै बनेका दुई शीत भण्डारहरू वषौँदेखि प्रयोग विहीन छन् । वर्षौँदेखि अलपत्र अवस्थामा रहेको सीत भण्डार सञ्चालनमा नआउँदा कृषि उपजलाई सुरक्षित राख्न नपाएको र आलुको बिउ समेत राख्न समस्या हुने गरेको अर्का किसान नर बहादुर बिष्ट बताउनुहुन्छ । यस क्षेत्रमा बनेका शीत भण्डार समेत प्रयोगमा छैनन्, शीत भण्डार सञ्चालन गर्नको लागि सरोकारवाला निकायले चासो नदेखाएको बिष्टको गुनासो छ । 

पाटन नगरपालिका वडा नं ८ खोडपेमा प्रदेश सरकारको सहयोगमा करिब ४२ लाख लागतमा बनेको शीत भण्डार सञ्चालनमा आएको छैन । आर्थिक वर्ष २०७९/०८० मा नै प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोल्ड स्टोर सञ्चालनमा आउन सकेको छैन । कोल्ड स्टोरका सञ्चालक मोहनदेव भट्टले प्रदेश सरकारको १५ लाख अनुदानमा निर्माण गरेको भएपनि प्रयोगमा ल्याएका छैनन् । कोल्ड स्टोर निर्माणका क्रममा अनुदान लगेका भट्ट अहिले सम्पर्कमा नरहेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त भट्टले बताउनुभयो । 

यसैगरी खोडपे क्षेत्रमै बनेको अर्को कोल्ड स्टोरको काम सम्पन्न हुन सकेको छैन । साबिकको नयाँ सहर आयोजनाको कार्यालयद्वारा ८४ लाख २९ हजार ८१ रुपैयाँ लागतमा बनेको कोल्ड स्टोरमा विद्युत् जडान नहुँदा प्रयोगमा आउन सकेको छैन । 

विद्युत् जडानसँगै केही प्राविधिक उपकरण जडानको काम बाँकी रहेको छ । उक्त कोल्ड स्टोरमा विद्युत् जडानको लागि बजेट नआएकाले आगामी वर्षको लागि माग गरिएको नयाँ सहर आयोजनाको कार्यालय गाभिएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयका सूचना अधिकारी विशाल श्रेष्ठले जानकारी दिनुभयो । 

व्यावसायिक तरकारी खेती गरेर नमुना बनेका पाटन नगरपालिका वडा नं. ८, ९ र १०  मा सरकारले सिँचाई र शीतभण्डारको व्यवस्था गर्नु जरुरी रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button