तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक: गरिब हटाउने होइन, गरिबी हटाउने नीति ल्याउन सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधि सभाका  सांसदहरुले सरकारले काठमाडौँबाट गरिब हटाउने नभइ गरिबी हटाउने नीति लिनुपर्ने, देशैभर बढ्दै गएको आत्महत्याका घटनाको संवेदनशील भएर अनुसन्धान गरी आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई कारबाही गरिनुपर्ने र दलित समुदायमाथि हुने छुवाछुत र जातीय भेदभाव अन्त्य गर्न  विशेष योजना ल्याउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

आर्थिक बर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको प्रतिनिधिसभाको बैठकको  आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरुले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकार योजना अघि बढ्छ कि रोकिन्छ भनेर सरकारले स्पष्ट पार्नुपर्ने, देशैभर बन्दै गरेका सडक निर्माण कार्य समयमै सक्नुपर्ने, हालसालै चोरी भएको रातो मच्छिन्द्र नाथको दायाँबायाँ राख्ने हिटी मंग खोजी गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालका विभिन्न नदीहरूको दोहन बढेको भन्दै सांसदहरुले नदीजन्य पदार्थको  वैज्ञानिक व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कनको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने र अवैध उत्खननमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने र किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

लमजुङका किसानहरुले हरेक वर्ष सिँचाइको समस्या भोग्नुपरेको  भन्दै सांसदहरुले हाँडेटार र राइनस सिँचाइ आयोजना सरकारले तत्काल निर्माण सुरु गर्नुपर्ने, निवर्तमान गृहमन्त्री सुदन गुरुङमाथि छानविन गर्न गठन गरेको आयोगले निष्पक्ष छानविन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकको शून्य समयमा सांसदहरुले बोल्ने क्रम सकिएपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल हुने र 

छलफलपछि  आजै अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले उठेका प्रश्नका जवाफ दिने कार्यसूची रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button