तपाईँ सुन्दै हुनुहुन्छः

भूमि प्रशासन कार्यालय उदयपुरद्वारा ९ महिनामा १२ करोड बढी राजश्व सङ्कलन 

उदयपुर । भूमि प्रशासन कार्यालय उदयपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो नौ महिनामा १२ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । साउन महिनादेखि चैत मसान्तसम्म कार्यालयले घरजग्गा रजिष्ट्रेसन, पुँजीगत लाभकर तथा विभिन्न शीर्षकमार्फत कुल १२ करोड ८० लाख ८ हजार ८१ रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

कार्यालय प्रमुख डुविन्द्र प्रसाद बरालका अनुसार सबैभन्दा बढी राजस्व घरजग्गा रजिस्ट्रेसनबाट सङ्कलन भएको हो । उक्त अवधिमा घरजग्गा रजिष्ट्रेसन बापत मात्रै ९ करोड २४ लाख २८ हजार १२ रुपैयाँ राजस्व उठेको छ । यस्तै, पुँजीगत लाभकरतर्फ ३ करोड ५४ लाख ६८ हजार ८८४ रुपैयाँ तथा विविध शीर्षकमा १ लाख ११ हजार १८५ रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व सङ्कलनमा उस्तै देखिएको छ । घरजग्गा खरिद–बिक्री, नामसारी लगायतका सेवाप्रति सेवाग्राहीको सक्रियता बढ्दै जाँदा राजस्व सङ्कलनमा समेत सकारात्मक प्रभाव परिरहेको कार्यालयको भनाइ छ । पछिल्लो समय घरजग्गा कारोबारमा आएको चहलपहलका कारण अघिल्लो वर्षभन्दा जस्तै राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयले जनाएको छ ।

प्रमुख बरालले सङ्कलित राजस्वमध्ये घरजग्गा रजिस्ट्रेसनबाट प्राप्त रकम कानुनी व्यवस्था अनुसार सम्बन्धित स्थानीय तह र प्रदेश सरकारलाई बाँडफाँट गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार घरजग्गा रजिस्ट्रेसनबाट उठेको रकममध्ये ६० प्रतिशत स्थानीय तहलाई र ४० प्रतिशत प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

भूमि प्रशासन कार्यालयले सेवाग्राहीलाई छिटो, सहज र पारदर्शी सेवा प्रवाह गर्न प्रयास गरिरहेको जनाएको छ । डिजिटल प्रणालीको प्रयोग, अभिलेख व्यवस्थापनमा सुधार तथा सेवा प्रवाह प्रक्रियालाई व्यवस्थित बनाइएका कारण पनि राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको कार्यालयको भनाइ छ ।

कार्यालयले आगामी महिनाहरूमा पनि सेवा प्रभावकारी बनाउँदै राजस्व सङ्कलनलाई अझ वृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button