स्याङ्जा पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषित
स्याङ्जा। स्वास्थ्य क्षेत्रमा एउटा उदाहरणीय फड्को मार्दै स्याङ्जा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषित भएको छ ।
जिल्लाका ११ वटै स्थानीय तहले १६ देखि २३ महिनाका आफ्ना सबै बालबालिकाहरूलाई राष्ट्रिय खोप तालिका बमोजिमका सम्पूर्ण खोपहरू सफलतापूर्वक उपलब्ध गराएपछि यो उपलब्धिको आधिकारिक घोषणा गरिएको हो ।

जिल्लाभरका कुल २ हजार २ सय ९६ जना बालबालिकालाई खोपको पूर्ण दायरामा ल्याउन स्थानीय सरकार र स्वास्थ्य निकायहरूले निकै ठुलो कसरत गरेका थिए ।
स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीले समुदाय स्तरमा कोही पनि बालबालिका खोप पाउनबाट नछुटुन् भन्ने मुख्य उद्देश्यका साथ पालिकाहरूसँग बलियो समन्वय र सहकार्य गरिएकै कारण यो सफलता सम्भव भएको बताउनुभयो । यो अभियानमा पालिकाहरूको योगदान हेर्दा जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिकामा सबैभन्दा बढी ४८१ जना बालबालिका सुरक्षित भएका छन् भने वालिङमा ४०६, गल्याङमा ३०५, कालीगण्डकीमा २१७, भीरकोटमा २१३ र चापाकोटमा १९४ जना बालबालिकाले खोपको पूर्ण मात्रा पाएका छन् ।
त्यसैगरी ग्रामीण क्षेत्र समेटिएका गाउँपालिकाहरूमा पनि स्वास्थ्यकर्मीहरूको सक्रियता उत्साहजनक देखियो, जसअन्तर्गत अर्जुनचौपारी र बिरुवामा समान ११३/११३ जना, फेदीखोलामा ८९, आँधीखोलामा ८३ र हरिनास गाउँपालिकामा ८२ जना बालबालिका पूर्ण रूपमा खोपयुक्त बनेका छन् । यो घोषणालाई केवल कागजमा मात्र सीमित नराखी भविष्यमा पनि दिगो र नियमित बनाउनका लागि अहिले स्थानीय तह र स्वास्थ्य निकायहरूले संयुक्त रूपमा गाउँ गाउँमा अनुगमन तथा सचेतनामूलक अभियानलाई निरन्तरता दिइरहेका छन् । जसले स्याङ्जाको बाल स्वास्थ्य सुरक्षालाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्