तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका ठुला सडक आयोजनाका लागि सात अर्ब स्रोत सहमति

जुम्ला । कर्णाली प्रदेश समृद्धिका ठुला आयोजना निर्माणका लागि ठुलो बजेट स्रोत सहमति जुटेको छ । 

वर्षौँदेखि बजेट अभाव झेल्दै आएका कर्णाली करिडोर, भेरी करिडोर, खुलालु सल्लीसल्ला सडक आयोजना अन्तर्गत पुल निर्माणका लागि बजेटको स्रोत सहमति जुटेको हो । 

बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउनका लागि खलालु सल्लीसल्ला सडक आयोजना अन्तर्गत खुलालु–कोट, भुक्काखोला–पिलुचौर–तुम्च सल्लीसल्ला सडकका लागि ३ अर्ब १५ करोड १० लाख स्रोत सहमति भएको छ ।

खुलालु–सल्लीसल्ला सडक योजना अन्तर्गत ६ वटा पक्की पुल निर्माणका निम्ति ६२ करोड ४३ लाख, कर्णाली करिडोरको उत्तर खण्ड हिल्सा सिमकोट सडक आयोजना खार्पुनाथदेखि खरिखेत र खरिखेत सल्ली सल्ला सडक निर्माणका लागि २ अर्ब ३३ करोड ७३ लाख गरी साविक कर्णालीको समृिद्वसँग जोडिएका ठुला सडक आयोजनाका लागि ६ अर्ब १० करोड बढी बजेट स्रोत सहमति भएको छ । 

हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद जयपती रोकायाको पहलमा कर्णाली करिडोर अन्तर्गत खुलालु–सलिसल्ला खण्डको पुल तथा सडक निर्माणका लागि ३ अर्ब ७७ करोड तथा सलिसल्ला–सिमकोट खण्डका लागि २.३३ अर्ब गरी कुल ६.१० अर्ब बराबरको बहुवर्षीय ठेक्कामा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको हो । 

सांसद रोकायाले समग्र कर्णाली र हुम्लावासीका लागि ६ अर्ब स्रोत सहमति हुनु अत्यन्त महत्वपूर्ण उपलब्धि हो । यसले अब बजेट अभावमा आयोजना रोकिने छैन । यस महत्वपूर्ण प्रक्रियामा पूर्व भौतिक पूर्वाधार मन्त्री माधवप्रसाद चौलागाईंका पूर्वाधार विज्ञ सल्लाहकार अंगलाल रोकाया, योजना आयोग सदस्य अर्जुन जङ थापा, सहसचिव तथा पूर्व महानिर्देशक राम हरि पोखरेल लगायतको निरन्तर पहल, समन्वय तथा सहयोग छ ।

करिडोर (जाजरकोट–दुनै–मरिम–तिन्चे धो) रिम्ना सडक अन्तर्गत १४ वटा पक्की पुल निर्माणका लागि १ अर्ब २७ करोड २० लाख बजेट अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको छ । मङ्गलवार एक सूचना जारी गर्दै कर्णालीका ठुला सडक आयोजना अन्तर्गत सडक तथा पुल निर्माणका लागि ७ अर्ब बढी बजेट स्रोत सहमति प्रदान गरेको जानकारी दिएको छ ।

हुम्ला निवासी पूर्वाधार विज्ञ अंगलाल रोकायाले कर्णालीको सडक पूर्वाधार विकासमा उल्लेखीय आशालाग्दो सुरुवात भएको बताउनुभयो ।  कर्णाली करिडोर, भेरी करिडोर अन्तर्गत सडक र पुल निर्माण गर्न पहिलो पटक ठुलो रकम स्रोत सहमति भएको छ  । “मुगु, कालिकोट र जुम्लाको समृद्धिको ढोका कर्णाली राजमार्गको स्तरोन्नतिका लागि ठोस बजेट विनियोजन हुने आशा छ ।”, उहाँले भन्नुभयो ।

विगतका सरकारले कर्णालीका सडक पूर्वाधारहरूमा अत्यन्तै न्यून बजेट छुट्ट्याउने प्रथालाई वर्तमान सरकारले क्रमभङ्ता गर्दै आगामी आ.व.मा पर्याप्त मात्रामा बजेट विनियोजित गर्ने अपेक्षा गरिएको उहाँको भनाई छ । 

पहिलो पटक कर्णाली कोरिडर अन्तरगत खुलालु–सलिसल्लाको सडक तथा पुल निर्माणको सलिसल्ला–सिमकोट खण्डको लागि समेत ६ अर्ब १० करोड  भेरी कोरिडोरको लागि १ अर्ब २७ करोड  अर्बको अर्थ मन्त्रालयबाट हालै  बहुबर्षीय ठेक्का पट्टाको स्रोत सहमति दिइएको छ । जुन अहिलेसम्मकै ठुलो बजेट हो । 

यही हिसाबले अहिलको नयाँ सरकारले सुर्खेत–जुम्ला २३२ कि.मि.सडक स्तरउन्नतिको लागि आगामी आवको बजेटमा पहिलो पटक छुट्टै बजेट शीर्षकमार्फत ठूलो मात्रामा बजेट विनियोजित हुने सङ्केत देखिएको छ । 

नेपालकै ठुलो रारा ताल जाने पर्यटकीय माग नाग्म–गमगढी सडकको स्तरोन्नतिका लागि पनि आगामी आवमा ठोस बजेट आउने अपेक्षा गरिएको जुम्लाका नागरिकले बताएका छन् । सडक सञ्चालन भएको डेढ दशक बढी समय बितिसक्दा पनि हालसम्म ६ किमी सडक मात्रै कालोपत्रे भएको छ । हालै १५ किमी थप कालोपत्रे गर्नका लागि करिब एक अर्बको ठेक्का आह्वान भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button