साहित्यकार प्रेरणाको कृति अ–विधवा विमर्श तथा पुस्तक हस्ताक्षर

काठमाडौँ । बहुविधाका सक्रिय तथा चर्चित साहित्यकार गोविन्द गिरी प्रेरणाको नवीनतम कृति “अ–विधवा” को आज काठमाडौँमा विमर्श तथा पुस्तक हस्ताक्षर कार्यक्रम गरिएको छ ।
नेपाली साहित्यका वरिष्ठ व्यक्तित्वहरू प्रा.डा.दयाराम श्रेष्ठ, डा.अशोक थापा, डा.ज्ञानु अधिकारी र श्रीओम श्रेष्ठ रोदनले “अ–विधवा” पुस्तकको विमर्श गर्नुभयो ।
उहाँहरूले पुस्तकमा नारी पात्रलाई सशक्त र सक्षम रुपमा उभ्याउनुका साथै समाजले बनाएको विधवाको भाष्य विघटन गर्न जरुरी रहेको विषय पुस्तकमा उठान गरिएको बताउनुभयो ।
पुस्तकमा स्वदेश तथा विदेशका परिवेशहरू समेटिनुका साथै पुरुष मानसिकतालाई स्पष्ट रुपमा चित्रण गरिएको धारणा राख्दै विदेशमा रहेर पनि नेपाली साहित्य र सिर्जनामा समर्पित प्रेरणालाई लेखनमा निरन्तरता दिन उहाँहरूले आग्रह गर्नुभयो ।
दुई दशकभन्दा बढी समयदेखि अमेरिकामा बस्दै आएका साहित्यकार प्रेरणाको यो २८औँ कृति हो । कथा, कविता, निबन्ध, नाटक, समालोचना, नियात्रा, उपन्यास, जीवनी लगायतका विधामा उहाँका पुस्तकहरू निरन्तर प्रकाशित हुँदै आएका छन् ।
लेखक प्रेरणाले यो कृति लामो कथा सङ्ग्रहको दोस्रो कृति भएको र यसमा रहेका अधिकांश कथाहरू पूर्व प्रकाशन नभएको तथा ताजा भएको बताउनुभयो ।
यो पुस्तकलाई इम्प्रिन्ट पब्लिसर्सले प्रकाशन गरेको हो । साहित्यकार प्रेरणाको यसअघिको कृति “सुश्री पारिजात” निकै चर्चित छ ।








प्रतिक्रिया राख्नुहोस्