डिजिटल सीपमार्फत आत्मनिर्भर शिक्षा र समृद्ध नेपालको अभियान
काठमाडौं । आजको डिजिटल युगमा उच्च शिक्षाको स्वरूप तीव्र रूपमा परिवर्तन हुँदै गएको छ। केवल किताबी ज्ञानले मात्र विद्यार्थीको भविष्य सुरक्षित नहुने अवस्था आएको छ।
अब डिजिटल सीप, सिर्जनशीलता, नवप्रवर्तन र व्यावहारिक क्षमताले नै व्यक्तिको सफलता निर्धारण गर्ने आधार बनेका छन्। यही सन्दर्भमा विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा काठमाडौं शिक्षा क्याम्पसको आयोजनामा पाँचदिने डिजिटल सीपसम्बन्धी तालिम कार्यक्रमको उद्घाटन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका नवनियुक्त निमित्त शिक्षाध्यक्ष तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा. डा. शंकर प्रसाद खनालले डिजिटल मार्केटिङ आजको शिक्षा क्षेत्रको अपरिहार्य आवश्यकता भएको बताउनुभयो। उहाँले “सिक्दै कमाउँदै” भन्ने अवधारणालाई व्यवहारमा उतार्न यस्ता तालिम अत्यन्त प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो। साथै, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले केवल गुणात्मक नभई गुणस्तरीय शिक्षामा जोड दिँदै समयअनुसार पाठ्यक्रम परिमार्जन गरी डिजिटलाइजेशनतर्फ अघि बढिरहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार संस्थानका विद्यार्थीहरूले डिजिटल क्षेत्रमा उत्कृष्ट कार्यसमेत गरिरहेका छन्।
प्रा. डा. खनालले देशभरका सामुदायिक क्याम्पसहरूले भोग्दै आएका समस्या—जस्तै विषय तथा कार्यक्रम थप, क्याम्पस नवीकरण, शिक्षक स्तरोन्नति तथा वर्गीकरण—समाधानको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो। ती समस्याहरू त्रिभुवन विश्वविद्यालयको प्राथमिकतामा रहेको उल्लेख गर्दै छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका विशेष अतिथि तथा विश्वविद्यालय अनुदान आयोगका कार्यवाहक सदस्य–सचिव डा. केदार प्रसाद आचार्यले नेपालभर रहेका करिब १६०० उच्च शिक्षा संस्थामध्ये झन्डै ४०० कलेजहरूले यस महिनाभित्र यस्ता सीपमूलक तथा नवप्रवर्तनमुखी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले यस्ता कार्यक्रमले अनुसन्धान, नवप्रवर्तन, रोजगार सिर्जना तथा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले आयोगले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो।
डा. आचार्यले उच्च शिक्षाको गुणस्तर, सान्दर्भिकता, रोजगारमुखी शिक्षा, उद्यमशीलता विकास तथा अनुसन्धान प्रवर्द्धनका लागि आयोग प्रतिबद्ध रहेको उल्लेख गर्दै सीमित स्रोत–साधनका बाबजुद सामुदायिक क्याम्पसहरूले उत्कृष्ट कार्य गरिरहेकोमा प्रशंसा गर्नुभयो।

त्यसैगरी, कार्यक्रमका विशेष अतिथि तथा चन्द्रागिरि नगरपालिका वडा नं. १० का अध्यक्ष शिवकुमार महर्जनले काठमाडौं शिक्षा क्याम्पसलाई चन्द्रागिरि नगरपालिकाको गौरवका रूपमा चित्रण गर्नुभयो। उहाँले क्याम्पसले शिक्षा क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै निकट भविष्यमा सञ्चालन गर्न प्रस्तावित होटल म्यानेजमेन्ट र बीएससी सीएसआईटी कार्यक्रमका लागि आवश्यक पूर्वाधार विकासमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, काठमाडौँको पश्चिमी क्षेत्रमा प्राविधिक धारका उच्च शैक्षिक संस्थामध्ये क्याम्पसले अग्रणी भूमिका निर्वाह गरेको भन्दै कार्यक्रम सञ्चालन अनुमतिका लागि सहजीकरण गरिदिन प्रमुख अतिथिसँग आग्रह गर्नुभयो।
अमृत साइन्स क्याम्पसका भौतिक विज्ञान विभागीय प्रमुख तथा आईटी विज्ञ सह–प्राध्यापक डा. जनकरत्न मल्लले डिजिटल मार्केटिङले शिक्षण, अनुसन्धान तथा संस्थागत प्रचार–प्रसारमा नयाँ सम्भावना सिर्जना गर्ने बताउनुभयो। उहाँले यस्ता तालिमले विद्यार्थीहरूलाई प्रमाणपत्रमुखीभन्दा सीपमुखी शिक्षातर्फ उन्मुख गराउने धारणा राख्नुभयो।
काठमाडौं शिक्षा क्याम्पसका क्याम्पस प्रमुख शत्रुघ्न प्रसाद गुप्ताको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा विषय विज्ञका रूपमा श्वेता शेरचन, सनिर महर्जन, डा. दीपा अधिकारी, कार्यक्रम संयोजक इन्जिनियर युवराज देवकोटा, शिक्षा विभाग प्रमुख ओमप्रकाश जोशी, कार्यक्रम संयोजक सुरजकुमार विष्ट, अतिरिक्त क्रियाकलाप प्रमुख किसन आले मगर, प्रचार–प्रसार विभाग प्रमुख डिल्लीराज बेल्बासे लगायत प्राध्यापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
क्याम्पसका सहायक क्याम्पस प्रमुख एवं जनसम्पर्क अधिकारी वसन्तकुमार बरालका अनुसार कार्यक्रममा काठमाडौंका विभिन्न सामुदायिक क्याम्पसका शिक्षक तथा कर्मचारी, चन्द्रागिरि नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी तथा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत गरी १३० भन्दा बढी सहभागी रहेका थिए।
कार्यक्रमका संयोजक युवराज देवकोटाले सामाजिक सञ्जाल व्यवस्थापन, सर्च इन्जिन अप्टिमाइजेशन (SEO), कन्टेन्ट क्रिएशन, ब्रान्डिङ तथा अनलाइन प्रमोशनजस्ता डिजिटल सीपहरूले विद्यार्थीहरूलाई स्वरोजगार, फ्रीलान्सिङ तथा उद्यमशीलतातर्फ अग्रसर गराउने अपेक्षा व्यक्त गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्