जानकी गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु
बाँके । बाँकेको जानकी गाउँपालिकामा पालिका स्तरीय खेलकुद विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।
श्री कन्या माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगिताले गाउँपालिकाभित्र रहेका खेल प्रतिभाको पहिचान गर्दै युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष छब्बन खाँले ब्याटिङ गर्दै तथा सामाजिक विकास समितिका संयोजक राम अचल धोबीले बलिङ गर्दै गर्नुभयो । उद्घाटनसँगै मैदान खेलाडी, खेलप्रेमी र स्थानीय दर्शकको उत्साहले भरिएको थियो ।
प्रतियोगितामा गाउँपालिकाभित्रका १६ वटा क्रिकेट टोली सहभागी रहेका छन् । खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का नियमअनुसार लेदर बल प्रयोग गरी सञ्चालन भइरहेको आयोजक समितिले जनाएको छ । प्रारम्भिक चरणका खेल लिग प्रणालीमा सञ्चालन हुनेछन् भने उत्कृष्ट टोलीहरू सेमिफाइनल हुँदै फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताअन्तर्गत दैनिक दुई खेल सञ्चालन गरिने व्यवस्था गरिएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद रु ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु २५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष राम प्यारी यादवले खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्ने बताउँदै पालिकाले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष टिकानाथ यादवले खेलकुद गाउँपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउँदै आगामी आर्थिक वर्षमा खेल क्षेत्रका लागि थप बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नियमित प्रतियोगितामार्फत ग्रामीण क्षेत्रका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य रहेको पनि बताउनुभयो ।
त्यसैगरी शिक्षा शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णाकुमारी भण्डारीले खेलकुद शिक्षासँगै जोडिएको महत्वपूर्ण पक्ष भएकाले विद्यार्थी र युवालाई खेलप्रति आकर्षित गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा योजना शाखा प्रमुख शोभा पौडेल, प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्रबहादुर कार्की, विद्यालयका प्रधानाध्यापक मालतीकुमारी शाही, सहायक शिक्षा अधिकृत झुमी ओली, अध्यक्षका निजी सल्लाहकार सोहराब इद्रीसी, कार्यपालिका सदस्य कान्ति कादु, निर्मला हरिजन, कमला देवी यादव, तारावती खटिकलगायतको सहभागिता रहेको थियो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन पाँच खेल सम्पन्न भएका छन् । पहिलो दिन जानकी–६ भाटनपुर, जानकी–४ गिजरा, सरस्वती क्लब जानकी–३, न्यू राइजिङ क्लब जानकी–४ र मानपुर राइजिङ स्पोर्ट क्लब जानकी–३ विजयी भएका छन् ।
स्थानीय स्तरमै खेलकुद गतिविधि विस्तार गर्दै युवालाई सकारात्मक दिशामा अघि बढाउने उद्देश्यले आयोजना गरिएको अध्यक्ष कप क्रिकेट प्रतियोगिताले जानकी गाउँपालिकामा खेल संस्कृतिको विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्