तपाईँ सुन्दै हुनुहुन्छः

पीडित मैत्री सेवा भावलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्देशन 

वीरगञ्ज । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पिडित मैत्री सेवा भावलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिनुभएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्नुहुँदै महानिरीक्षक कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सहज, सुरक्षित र संवेदनशील वातावरणमा सेवा प्रदान गर्ने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएको बताउनुभयो । 

उहाँले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, तस्करी नियन्त्रण, लागु औषध ओसारपसार नियन्त्रण तथा मानव बेचबिखन जस्ता जघन्य अपराध नियन्त्रण गर्न सिमाक्षेत्रमा खटिने प्रहरीलाई निर्देशन दिनुभयो । 

संयुक्त राष्ट्रसङ्घ परियोजना सेवा कार्यालय अन्तर्गत नेपाल प्रहरीमा सञ्चालित सुरक्षा तथा न्याय कार्यक्रम (एसजेपी)मार्फत निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन भएसँगै अब पर्सा प्रहरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सेवा पुर्‍याउन सहज भएको छ । 

भवन उद्घाटन कार्यक्रममा पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मी, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला, पर्साका प्रहरी उपरीक्षक सुदीप्राज पाठक, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक ज्ञानेन्द्र बस्नेत, राष्ट्रिय अनुसन्धान विभाग पर्साका उपअनुसन्धान निर्देशक सन्तोष ढुङ्गाना, संयुक्त राष्ट्र संघ परियोजना सेवा कार्यालयका सञ्चालन संयोजक इन्द्र न्यौपाने, पूर्वाधार प्रबन्धक शिशिर उपाध्याय, लैङ्गिक समानता तथा सामाजिक समावेश अधिकारी कृति थापा, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button