तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन विकाससँगै गोरखाको हिमाली जनजीवनमा सकारात्मक परिवर्तन

गोरखा। विश्वको आठौँ तथा नेपालको सातौँ अग्लो हिमाल मनास्लुको पहिलो सफल आरोहण भएको ७० वर्ष पूरा भएको अवसरमा गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा विशेष कार्यक्रमका साथ हीरक महोत्सव मनाइएको छ ।

समुद्री सतहबाट ८१६३ मिटर उचाइमा रहेको मनास्लु हिमाल नेपालको मात्र नभई विश्व पर्यटन क्षेत्रकै महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ ।

चुमनुब्री गाउँपालिकाको आयोजना तथा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप), नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) लगायत विभिन्न संस्थाहरूको सहकार्यमा सम्पन्न महोत्सवले हिमाली पर्यटनको महत्वलाई थप उजागर गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्दै मनास्लु क्षेत्र नेपालको प्राकृतिक, सांस्कृतिक र पर्यटन सम्पदाको अनुपम उदाहरण भएको बताउनुभयो । पाण्डेले पर्यटन विकासले हिमाली क्षेत्रको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको औँल्याउनुभयो । 

हीरक महोत्सवको अवसरमा मनास्लु हिमालका प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र नेपाली नागरिक उर्गेन छिरिङ शेर्पाको अर्धकदको सालिक अनावरण गरिएको थियो । मुख्यमन्त्री पाण्डे तथा गाउँपालिका अध्यक्ष निमा लामाले जापानी आरोहीका छोरा कुनियो इमानिसी र नाति रसोयुके इमानिसीलाई प्रमाणपत्र, दोसल्ला तथा सम्मानपत्र प्रदान गर्दै ऐतिहासिक योगदानको सम्मान गरेका थिए । साथै सामागाउँका प्रथम स्थानीय आरोही मिङ्मार छिरिङ लामा, नाङ्स्याल छेदेन र डिकी लामालाई पनि विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा भोटे लामा समुदायको परम्परागत सेर्का नृत्यसहित विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको थियो । स्थानीय कला, संस्कृति, भेषभूषा र परम्पराले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । यसले मनास्लु क्षेत्र प्राकृतिक सौन्दर्य मात्र नभई सांस्कृतिक विविधताको धनी क्षेत्र भएको सन्देश दिएको सहभागीहरूले बताएका छन् ।

मनास्लु हिमालको पहिलो सफल आरोहण सन् १९५६ मे ९ मा जापानी आरोही तोसियो इमानिसी र नेपाली शेर्पा उर्गेन छिरिङद्वारा गरिएको थियो । त्यसयता मनास्लु क्षेत्र विश्वभरका पर्वतारोही तथा पदयात्रीहरूको रोजाइमा पर्दै आएको छ । पछिल्ला दशकहरूमा यहाँ पर्यटन गतिविधि उल्लेखनीय रूपमा बढेको छ ।

पर्यटन क्षेत्रको विकाससँगै चुमनुब्री तथा आसपासका हिमाली बस्तीहरूको जनजीवनमा उल्लेखनीय सुधार आएको स्थानीयवासी बताउँछन् । पहिले दैनिक ज्यालादारी र पशुपालनमा निर्भर स्थानीयहरू अहिले पर्यटन व्यवसायसँग जोडिएका छन् । धेरैले होटल, लज, होमस्टे, ट्रेकिङ गाइड, पोर्टर तथा पर्वतारोहण सहयोगीका रूपमा रोजगारी पाएका छन् । यसले स्थानीयको आयस्तर बढाएको छ ।

पर्यटनको बढ्दो गतिविधिसँगै गाउँमै उत्पादन हुने आलु, जौ, फापर, तरकारी तथा अन्य कृषि उत्पादनको खपत स्थानीय बजारमै हुन थालेको छ । यसले कृषिमा समेत उत्साह थपेको छ । तल्लो क्षेत्रबाट काम र व्यापारका लागि मानिसहरू आउने क्रम बढेपछि स्थानीय व्यापार व्यवसाय पनि विस्तार भएको छ ।

हिमाली क्षेत्रमा सडक, सञ्चार, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा समेत सुधार देखिन थालेको छ । पर्यटनबाट भएको आम्दानीले स्थानीय अभिभावकहरूले आफ्ना छोराछोरीलाई शहरका सुविधा सम्पन्न विद्यालयमा अध्ययन गराउन थालेका छन् । केही युवाहरू उच्च शिक्षा हासिल गरी बैङ्क, सरकारी सेवा तथा अन्य पेशागत क्षेत्रमा प्रवेश गर्न सफल भएका छन् । यसले हिमाली क्षेत्रका युवामा आत्मविश्वास र अवसरको ढोका खोलिएको स्थानीय अगुवाहरूको भनाइ छ ।

स्थानीय युवाहरूले ट्रेकिङ गाइड तथा आतिथ्य सेवासम्बन्धी तालिम लिएर विदेशी पर्यटकलाई आफ्नो भूगोल, संस्कृति र जीवनशैली चिनाउने अवसर पाएका छन् । पाहुनाको स्वागत सत्कार र सुरक्षित भ्रमण व्यवस्थापनमा स्थानीय समुदाय सक्रिय देखिन्छ । यसले मनास्लु क्षेत्रको पर्यटनलाई अझ विश्वसनीय र आकर्षक बनाएको छ ।

पर्यटन क्षेत्रको विकासका कारण हिमाली जनजीवनमा आएको परिवर्तनलाई स्थानीयहरूले सकारात्मक उपलब्धिका रूपमा लिएका छन् । रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र आर्थिक अवसर विस्तार हुनु हिमाली क्षेत्रका लागि राम्रो पक्ष भएको उनीहरूको भनाइ छ ।

स्थानीयवासीका अनुसार पर्यटनले केवल आर्थिक लाभ मात्र होइन, हिमाली संस्कृति, परम्परा र पहिचानलाई विश्वसामु चिनाउने अवसर पनि दिएको छ । त्यसैले मनास्लु क्षेत्रको पर्यटनलाई दिगो, सुरक्षित र वातावरणमैत्री बनाउँदै अगाडि बढाउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

यो क्षेत्र जाडो मौसमका दुई महिना अत्यधिक हिमपात र चिसोका कारण कष्टकर बन्ने गर्दछ भने वर्षायाममा पहिरो, बाटो अवरुद्ध हुने तथा यात्रा जोखिमपूर्ण हुने समस्या रहने स्थानीयहरू बताउँछन् । तथापि, वसन्त र शरद ऋतुमा मौसम सफा, वातावरण अनुकूल तथा यात्रा सुरक्षित रहने भएकाले यो समय पर्यटन गतिविधिका लागि उपयुक्त मानिन्छ । विशेषगरी मनास्लु पदमार्गमा यही समयमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन बढी हुने गर्दछ । अनुकूल मौसमका कारण हिमालको मनोरम दृश्य अवलोकन, पदयात्रा तथा पर्वतारोहण गतिविधि सहज र सुरक्षित हुने भएकाले अन्य मौसममा भने यो क्षेत्र पर्यटनका दृष्टिले निकै आकर्षक र सुरक्षित गन्तव्यका रूपमा परिचित रहेको छ । यस क्षेत्रमा यात्रा गर्ने विदेशी तथा स्वदेशी पाहुनाहरूले आफूलाई पूर्ण सुरक्षा भएको महसुस गर्ने भएकाले पनि यहाँ पर्यटकको सङ्ख्या बढिरहेको छ । पर्यटन क्षेत्रको पूर्वाधारमा व्यावसायीहरुले वर्षेनी लगानी बढाएका कारण पर्यटकहरू सुरक्षित साथ गन्तव्यमा पुग्ने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button