प्रविधिमैत्री सेवा दिन यातायात व्यवसायीलाई मुख्यमन्त्री पाण्डेको सुझाव

पोखरा । देशभरका यातायात व्यवसायीहरूको सहभागितामा पोखरामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनको आज (आइतबार) पोखरामा उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयअनुसार यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउन व्यवसायीहरूलाई सुझाव दिनु भएको छ ।
पर्यटन राजधानी पोखरास्थित पोखरा इभेन्ट सेन्टरमा आइतबारदेखि सुरु भएको महाधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रविधिमा आधारित सेवा अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले राइड शेयरिङदेखि डिजिटल व्यवस्थापनसम्मका प्रणालीलाई आत्मसात नगरी यातायात क्षेत्र अगाडि बढ्न नसक्ने धारणा राख्नुभयो ।
“अब प्रविधिमा नगई विकल्प छैन,” उहाँले भन्नुभयो, “राज्यको नियमनभन्दा बाहिर रहेका सेवाहरूलाई कानुनी दायरामा ल्याएर व्यवस्थित गर्न प्रदेश सरकारले पहल गरेको हो ।” मुख्यमन्त्री पाण्डेले विश्वका विकसित मुलुकहरू प्रविधिमैत्री यातायात प्रणालीतर्फ अघि बढिरहेको उल्लेख गर्दै चीनमा चालकविहीन बस सञ्चालन भइरहेको उदाहरण प्रस्तुत गर्नुभयो । नेपालले पनि समयअनुसार आधुनिक प्रविधि प्रयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
यातायात क्षेत्र देशको अर्थतन्त्र, पर्यटन, रोजगारी र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै उहाँले यस क्षेत्रलाई सुरक्षित, व्यवस्थित र उत्तरदायी बनाउन सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार सहजीकरण गर्न तयार रहेको पनि पाण्डेले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले सार्वजनिक यातायातलाई व्यवस्थित र सेवामुखी बनाउन प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले यात्रुमैत्री सेवा विस्तारमा व्यवसायीहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक(आइजिपी) दानबहादुर कार्कीले सडक सुरक्षामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउँदै मापसे, लापसे तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी नचलाउन आग्रह गर्नुभयो । उहाँले सार्वजनिक सवारीमा प्रविधियुक्त सिसिटिभी क्यामरा जडानको आवश्यकता औँल्याउनुभयो ।
महासङ्घका अध्यक्ष विजय स्वारको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न मजदुर सङ्गठन, यातायात व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका कलाकारहरूले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष एनकुमार शाहीका अनुसार देशभरबाट करिब दुई हजार व्यवसायी पोखरामा भेला भएका छन् । तीन दिनसम्म चल्ने महाधिवेशनले आगामी तीन वर्षका लागि ७६ सदस्य नयाँ नेतृत्व चयन गर्ने महासङ्घका सचिव भानुभक्त बरालले जानकारी दिनुभयो । महासङ्घका केन्द्रीय सदस्य केशवप्रसाद अधिकारीले ७७ जिल्लाका व्यवसायी पोखरामा भेला हुँदा यसले पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव परेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्