पर्साको ग्रामीण भेग लाई त्रिभुवन राजपथसँग जोड्ने जनता सडक जीर्ण

वीरगञ्ज । पर्साको ग्रामीण भेगलाई त्रिभुवन राजपथसँग जोड्ने जीतपुर–बडनिहार–मनवा–रङ्गपुर जनता सडक ठाउँ–ठाउँमा कालोपत्रे भत्किएर जीर्ण बनेको छ ।
करिब एक दशक अघि विश्व बैङ्कको आर्थिक सहयोगमा पप्पु कन्स्ट्रक्शनले निर्माण सम्पन्न १७ किलोमिटर लामो जनता सडक अहिले दर्जनौँ स्थानमा खाडल बनेर बिग्रिएको छ, जसले स्थानीयको दैनिक आवतजावतमा गम्भीर समस्या सिर्जना गरेको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार सडकको बिग्रिएको अवस्थाले सवारीसाधन सञ्चालनमा कठिनाइ मात्र नभई दुर्घटनाको जोखिम पनि उल्लेखनीय रूपमा बढाएको छ । पर्सागढी नगरपालिका–३ का स्थानीय भरत गुरुङले व्यस्त यो सडकको समयमै मर्मत नहुँदा जनजीवन प्रभावित भएको बताउनुभयो ।
उहाँका अनुसार, सडकमा भएका ठूला–ठूला खाडलका कारण सवारीसाधन बारम्बार बिग्रिने र दुर्घटना हुने अवस्था बढिरहेको छ । सम्बन्धित निकायले चासो नदिए अवस्था अझ भयावह बन्न सक्छ ।
स्थानीयहरूले सडक विभाग र सम्बन्धित निकायको उदासीनताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूका अनुसार वर्षौंदेखि सडक मर्मत नहुँदा जनताले सास्ती भोग्नुपरेको छ भने एम्बुलेन्स, सार्वजनिक यातायात र निजी सवारी साधनसमेत जोखिममा पर्ने गरेका छन् ।
विश्व बैङ्कको सहयोगमा करिब १७ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो सडक पर्सा जिल्लाको ग्रामीण क्षेत्रलाई जोड्ने महत्वपूर्ण सडकको रुपमा रहेको छ । तर निर्माण सम्पन्न भएको छोटो अवधिमै सडक भत्किन थालेपछि यसको गुणस्तरमाथि पनि प्रश्न उठ्न थालेको छ ।
स्थानीयवासीले तत्काल मरम्मत र पुनर्निर्माणको माग गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्