बर्दघाटको नयाँ गाउँ प्रदेशकै पहिलो वैदेशिक रोजगार सुरक्षित गाउँ घोषणा
नवलपरासी पश्चिम् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत रहेको नयाँ गाउँ टोललाई शुक्रबार “वैदेशिक रोजगार सुरक्षित गाउँ” घोषणा गरिएको छ।

बर्दघाट नगरपालिकाको आयोजनामा तथा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सहयोगमा “स्वदेशमै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ” भन्ने नारालाई आत्मसाथ गर्दै सुरक्षित गाउँ घोषणा गरिएको हो।
सो अवसरमा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले वैदेशिक रोजगारीमा जाने युवालाई सुरक्षित, मर्यादित र कानुनी प्रक्रियामार्फत विदेश पठाउन स्थानीय तह र सामीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
साथै बर्दघाट नगरपालिकाका १२७ टोलमध्ये सबैभन्दा कान्छो टोल भए पनि नयाँ गाउँले उदाहरणीय काम गरेको भन्दै आगामी दिनमा पनि अन्य सामाजिक गतिविधिमा अग्रणी भूमिका खेल्न आग्रह गर्नुभयो।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक विजय ठाकुर ले वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले आवश्यक सूचना, सीप तथा कानुनी प्रक्रियाबारे जानकारी लिएर मात्र विदेश जानुपर्ने बताउनुभयो।
नयाँ गाउँ टोल विकास संस्थाका अध्यक्ष बिन्दु भण्डारीले गाउँलाई सुरक्षित गाउँ घोषणा गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि वैदेशिक रोजगार सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सामी कार्यक्रम लुम्बिनी प्रदेशका अधिकृत जियाउल हक मनिहारका अनुसार टोलमा रहेका ४८ घरधुरी तथा १९१ जनसङ्ख्यामध्ये २७ जना वैदेशिक रोजगारमा रहेका छन् भने ६ जना विदेश जाने तयारीमा छन्। उनीहरू सबै सुरक्षित सूचना पहुँचमा रही आवश्यक कागजात घरमै सुरक्षित राखेको आधारमा नयाँ गाउँलाई “वैदेशिक रोजगार सुरक्षित टोल” घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्