बागमती गोल्डकपको उपाधिका लागि चित्लाङ एफसी र बागमती युवा क्लब भिड्ने
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकास्थित सहिद स्मृति रंगशाला झुरझुरे खेलमैदानमा जारी आठौँ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिता २०८३ को उपाधिका लागि शनिबार चित्लाङ एफसी काठमाडौँ र बागमती युवा क्लब सर्लाहीबिच प्रतिस्पर्धा हुने भएको छ। फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ।

फाइनल खेलको पूर्व सन्ध्यामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन्। चित्लाङ एफसीका प्रशिक्षक सुमन श्रेष्ठले अनुभवी तथा विदेशी खेलाडीको संयोजनले आफ्नो टोली बलियो बनेको बताउँदै फाइनलमा पनि आक्रामक खेल प्रस्तुत गर्ने बताए। उनले चित्लाङ एफसी उपाधिको हकदार रहेको दाबी गरे।
यता बागमती युवा क्लब सर्लाहीका व्यवस्थापक विश्वराज लामिछानेले आफ्नो टोली विभिन्न जिल्लास्तरीय प्रतियोगितामा निरन्तर सहभागी हुँदै आएको उल्लेख गर्दै खेलाडीहरू अनुभवी रहेको बताए। टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताए।
चित्लाङ एफसीले सेमिफाइनलमा नव जनजागृति युवा क्लब सिमरालाई ५–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। बागमती युवा क्लबले भने फ्रेन्ड्स क्लब काठमाडौँलाई ट्राई ब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो।
१० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।
बागमती गाउँपालिका मकवानपुरको प्रायोजनमा बागमती खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको हो।








प्रतिक्रिया राख्नुहोस्