एमआरपी नियममा सहजीकरणपछि भैरहवा नाकाबाट आयात सुरु
रुपन्देही । भन्सार बिन्दुमै अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने नियमका कारण असहज बनेको आयात प्रक्रिया भन्सार विभागको सहजीकरणपछि भैरहवा नाकाबाट पुनः सुरु हुन थालेको छ । आयातकर्ताले आफूले आयात गरेका वस्तु बजारमा बिक्री वितरण गर्नुअघि एमआरपी, ब्राण्ड र उपभोग्य मिति लगायतका विवरणको लेबल टाँस्ने प्रतिबद्धतासहित लिखित स्वघोषणा गरेपछि तत्कालका लागि आयात गर्न सकिने व्यवस्था गरिएको हो ।
भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले भन्सार विभागबाट मौखिक रूपमा सहजीकरणको जानकारी प्राप्त भएपछि बिहीबारदेखि आयात प्रक्रिया सहज बन्दै गएको बताउनुभयो । उहाँका अनुसार आयात गरिएका वस्तुका व्यवसायीबाट भन्सारमै लिखित प्रतिबद्धतासहितको स्वघोषणा गराइएको छ ।
व्यवसायीले आयात गरिएका सामानमा एमआरपी लगायतका विवरणको लेबल गोदाममै टाँस्न पाउनुपर्ने माग गर्दै आएका थिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको चैत ३० गतेको पत्रअनुसार वाणिज्य विभागले १५ दिने सूचना जारी गरेपछि गत वैशाख १४ गतेदेखि एमआरपी उल्लेख नगरिएका वस्तुको आयात भन्सारमै रोक्न थालिएको थियो । त्यसपछि आयात प्रक्रिया प्रभावित बनेको थियो ।
आयातकर्ताले छोटो समयमा नियम लागू गरिएको, विदेशबाट सामान अर्डर गरिसकेपछि नयाँ व्यवस्था आएको तथा कतिपय सामानमा एमआरपी टाँस्न प्राविधिक कठिनाइ रहेको भन्दै नियम अव्यवहारिक भएको गुनासो गरेका थिए । त्यसपछि धेरै दिनसम्म आयातित सामान भन्सार तथा बीच बाटोमै रोकिएका थिए । नेपाल भन्सार एजेन्ट संघ, सिद्धार्थनगरका अनुसार यो व्यवस्थाका कारण भैरहवा नाकामा चार सयभन्दा बढी गाडीमा लोड भएका सामान रोकिएका थिए ।
वाणिज्य विभागले व्यावसायिक प्रयोजनका लागि विदेशबाट पैठारी हुने तयारी खाद्य सामग्री तथा अन्य तयारी वस्तुमा ब्राण्ड, एमआरपी र उपभोग्य मिति उल्लेख भएको लेबल अनिवार्य गर्न सूचना जारी गरेको थियो । सोही व्यवस्थालाई कार्यान्वयन गर्न भन्सार बिन्दुमै कडाइ गरिएको थियो ।
भैरहवा भन्सार कार्यालयका अनुसार नियम लागू भएपछि वैशाख १४ गतेदेखि आयात घट्दै गएको थियो । सहजीकरणपछि बिहीबारसम्म रोकिएका ९० भन्दा बढी ट्रकका सामान भन्सारबाट छुटेका छन् । बिहीबार मात्रै कार्यालयले ५४ करोड रुपैयाँ राजस्व असुल गरेको जनाएको छ । भन्सार प्रमुख पौडेलका अनुसार वैशाख १४ गतेयताको यो पहिलो उल्लेख्य राजस्व सङ्कलन हो ।
नेपाल भन्सार एजेन्ट संघ, सिद्धार्थनगरका अध्यक्ष मधुप्रसाद पन्थीले भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामान सूचना जारी हुनुअघि नै नेपालतर्फ पठाइसकिएकाले एमआरपी कार्यान्वयनमा जटिलता देखिएको बताउनुभयो । उहाँले जापान, चीन लगायतका मुलुकबाट आयात गरिएका सामान नेपाल आइपुग्न महिनौँ लाग्ने भएकाले छोटो सूचनाका आधारमा लागू गरिएको व्यवस्थाले कार्यान्वयनमा समस्या सिर्जना गरेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्