श्रीलङ्कामा साइबर अपराध विरुद्धको पछिल्लो कारबाहीमा २३१ जना विदेशी नागरिक पक्राउ
कोलम्बो (श्रीलङ्का) । श्रीलङ्काका प्रहरीले सप्ताहन्त देखि राजधानीमा जारी गरेको पछिल्लो साइबर अपराध विरोधी कारबाहीमा अधिकांश चिनियाँ र भियतनामी सहित २३१ जना विदेशी नागरिकलाई पक्राउ गरेको अधिकारीहरूले बिहीबार बताएका छन् ।
अन्तर्राष्ट्रिय रूपमा अपराधको जालो फैलाई साइबर अपराध गर्दै आएको आपराधिक समूहले अनलाइन क्रिप्टोकरेन्सी घोटाला लगायतका माध्यमबाट वार्षिक अरबौँ डलर बराबरको हिनामिना गरेको जनाइएको छ ।
श्रीलङ्कामा, अधिकारीहरूले गत आइतबारको कारबाहीमा दुई सन्दिग्धसहित १५७ जनालाई पक्राउ गरेको जनाएका छन् । यसै गरी बुधबार थप ७४ जनालाई पक्राउ गरिएको जनाइएको छ ।
अपराधमा संलग्न व्यक्तिहरू पर्यटन भिसामा श्रीलङ्कामा प्रवेश गरी अवैध रूपमा आपराधिक कार्यमा संलग्न रहेको प्रहरी प्रवक्ता फ्रेडरिक वुटलरले बताउनु भएको छ ।
घोटाला केन्द्र बाट जफत गरिएका कम्प्युटर तथा मोबाइल फोनको फरेन्सिक जाँच गर्न आदेश दिएको जनाइएको छ ।
आइतबार पक्राउ परेका संदिग्धहरूसँग फेला परेका कम्प्युटर र सञ्चार उपकरणहरू पनि अनुसन्धानका लागि पठाइएको अधिकारीहरूले बताएका छन् ।
श्रीलङ्काको एक होटलबाट साइबर क्यामेरा सञ्चालन गरेको आरोपमा अधिकांश चिनियाँ नागरिक सहित १५२ जना विदेशी नागरिकहरूलाई हिरासतमा लिएको एक महिना पछि यो कारबाही गरिएको जनाइएको छ ।
आप्रवासन अधिकारीहरूले गत मार्चमा १३५ चिनियाँ नागरिकलाई यस्तै घोटालाको आरोपमा पक्राउ गरी निर्वासित गरिएको जनाएका छन् ।
यस अघि कोलम्बो स्थित बेइजिङ दूतावासले चिनियाँ नागरिकहरूलाई श्रीलङ्कामा घोटालाको कारबाहीमा संलग्न हुनबाट रोक्न स्थानीय अधिकारीहरूसँग काम गरिरहेको बताएको थियो ।
श्रीलङ्काको दूर–सञ्चार पूर्वाधार, अनुकूल भौगोलिक संरचना र अपेक्षाकृत उदार भिसा नीतिहरूले ठगी गिरोहहरूलाई श्रीलङ्का सक्रिय रहन प्रोत्साहित गरेको दूतावासले जनाएको छ ।
सन् २०२४ मा श्रीलङ्काका अधिकारीहरूले टापुका विभिन्न भागहरूमा साइबर अपराध विरुद्धको कारबाही गरेको आरोपमा २३० जना चिनियाँ नागरिक र २०० जना भारतीय नागरिकलाई हिरासतमा लिएको जनाइएको छ । रासस/एएफपी







प्रतिक्रिया राख्नुहोस्