धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

कञ्चनपुर I शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै पनि परम्परागत पानी घट्टमा निर्भर छन् । यहाँ अन्न पिस्ने एकमात्र माध्यम यही घट्ट हो ।
यस वर्ष गाउँमा विद्युत्का तार टाँगिए पनि सेवा सञ्चालनमा आएको छैन । दैनिक आवश्यक पिठो जुटाउन स्थानीयहरू घट्टमै भर पर्न बाध्य छन् । पिसानी गरेबापत सेवाग्राहीले केही पिठो घट्ट सञ्चालकलाई दिने प्रचलन छ । यसले सञ्चालक परिवारको खाद्यान्न आवश्यकतामा टेवा पुर्याउँदै आएको छ ।
पचास वर्षीय साइमले धामीको ११ सदस्यीय परिवार पनि यही घट्टमा आश्रित छ । घट्ट धामी परिवारले चलाउँदै आएका छन् । कुलो मर्मत गर्ने, घट्ट व्यवस्थापनको सम्पूर्ण कार्य धामीले गर्दै आएका छन् । “घट्ट सञ्चालन गरेबापत प्राप्त हुने पिठोले करिब चार महिना पुग्छ, बाँकी समय पाखो जमिनको उत्पादनले धानिन्छ”, उहाँले भन्नुभयो ।
एक दशकअघि दार्चुलाको धुलीगडाबाट पहिरोका कारण विस्थापित भई आएको यो परिवार हाल धारापानी खोला नजिकैको जग्गा खरिद गरी बस्दै आएको छ । यसका अतिरिक्त धामी परिवारले सानो किराना र चियाको पसल पनि राखेका छन् । त्यसबाट हुने आम्दानीले घर खर्च चलाउन सहज भएको उहाँ बताउनुहुन्छ ।
“पहिले धारापानी घुम्न आउने आन्तरिक पर्यटकको निकै चहलपहल हुन्थ्यो कमाइ पनि ठिकै थियो”, उहाँले भन्नुभयो, “सडक असुविधाका कारण हाल थोरै मात्रै पर्यटक आउँदा आम्दानी पनि थोरै हुने गरेको छ ।” घरका युवाहरू भने कामकै खोजीमा भारततर्फ लागेको उहाँ बताउनुहुन्छ ।
स्थानीय जयलाल धामीका अनुसार धारापानी खोलाबाट ल्याइएको कुलोमा पानी कम हुँदा घट्टको गति सुस्त हुन्छ, जसका कारण दैनिक करिब १५ किलो मात्र अन्न पिस्न सकिन्छ । विसं २०४० देखि उहाँको परिवार यही क्षेत्रमा बस्दै आएको छ । “गहुँ मकैलगायतका अन्न पिस्नका लागि एक मात्रै साधन घट्टनै रहेको छ”, उहाँले भन्नुभयो, “ कुटानीपिसानी गर्ने मिलसम्म पुग्न झण्डै तीन किलोमिटर वन क्षेत्र छिचोल्नु पर्ने हुन्छ, सडक भरपर्दो नहुँदा पैदलनै हिँड्नुपर्ने भएकाले घट्टनै एकमात्रै कुटानी पिसानीको साधनका रुपमा रहेको छ ।” गाउँका युवाहरू सबै भारततर्फ कमाउनका गएकाले गाउँमा बुढापाकाहरू मात्रै भएकाले पनि घट्टमै भर पर्नुपरेको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार, कसानी, बेलडाँगा, धारापानी, बर्रेगडा, कार्कीफाँटा र बागमारेका बासिन्दा पालैपालो यहाँ पुगेर पिठो पिस्ने गर्छन् । पिसानीको सट्टा आधा किलोदेखि एक किलोसम्म पिठो दिने चलनले सञ्चालकको जीविका धानिएको छ । चारैतिर जङ्गल र नदीले घेरिएको धारापानीमा हाल १४ परिवार बसोबास गर्दै आएका छन् । रासस







प्रतिक्रिया राख्नुहोस्