सरकारले जस्ताको तस्तै राष्ट्रपति समक्ष पुनः पठायो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
काठमाडौँ। सरकारले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुनः पठाएको छ ।
यसअघि सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाएकोमा राष्ट्रपतिले आइतबार सो अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाउनु भएको थियो । तर आज बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेशमाथि पुनर्विचार नगरी जस्ताको तस्तै राष्ट्रपतिसमक्ष पुनः सिफारिश गरिएको जानकारी सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले खुला सहकार्यबाट लिपुलेक–लिम्पियाधुरा सीमा विवादको निकास निकाल्न नेपाल र भारत सरकारबीच समन्वय अघि बढाइएको जानकारी सरकारका प्रवक्ता एवं मन्त्री पोखरेलले दिनुभयो ।
यसैगरी मन्त्रिपरिषद् बैठकले भारतसँग जी–टु–जी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले संसद् भवन परिसरमा प्रवेश व्यवस्थालगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउन तथा वायु गुणस्तर मापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विश्व बैङ्कबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकृत गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्