तपाईँ सुन्दै हुनुहुन्छः

माङ्ग्री भिरमा सडक फराकिलो बनाउन ब्लास्टिङ कार्य जारी, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुगु । सडक डिभिजन कार्यालय जुम्ला अन्तर्गत सञ्चालन भइरहेको गमगढी–नाक्चेलाग्ना सडकखण्डको माङ्ग्री भिर क्षेत्रमा सडकलाई सुरक्षित र फराकिलो बनाउने उद्देश्यले हाल ट्र्याक ओपन कार्य तीव्र रूपमा अघि बढाइएको छ।

कार्यालयका अनुसार उक्त क्षेत्रमा रहेका कडा चट्टानहरू ड्रिलिङ तथा ब्लास्टिङ (विस्फोट) प्रविधिबाट कटान गरी सडक विस्तारको काम भइरहेको छ।

सडकको जोखिमपूर्ण भागलाई व्यवस्थित बनाउँदै यात्रुलाई सहज र सुरक्षित आवतजावतको सुविधा उपलब्ध गराउने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको जनाइएको छ।

निर्माण कार्यका क्रममा चट्टान कटान तथा ब्लास्टिङ हुने भएकाले उक्त क्षेत्रमा ढुङ्गा खस्ने जोखिम उच्च रहने भन्दै यात्रु तथा स्थानीयवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

त्यसैगरी ब्लास्टिङ सञ्चालन हुने समयमा केही घण्टाका लागि सडक पूर्ण रूपमा बन्द गरिने भएकाले यात्रुहरूले आफ्नो यात्रा समय सोहीअनुसार मिलाउन अनुरोध गरिएको छ।

निर्माणस्थलमा खटिएका प्राविधिक तथा सुरक्षाकर्मीहरूको निर्देशन पालना गरी सहयोग गर्न पनि सडक डिभिजन कार्यालय जुम्लाले आग्रह गरेको छ ।

कार्यालयले “सुरक्षित सडक, सुलभ यात्रा  हाम्रो प्रतिबद्धता” भन्ने नारासहित सडक स्तरोन्नतिको काम हाल तदारूपताका साथ सडक बिस्तारको काम भइरहेको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button