सिक्टा सिँचाइको पानीले फेरियो बाँकेका किसानको खेती प्रणाली
बाँके। राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाअन्तर्गत नहरबाट छाडिएको पानीले बाँकेका किसानको खेती प्रणालीमै ठूलो परिवर्तन ल्याएको छ । वर्षौंदेखि आकाशे पानीको भरमा मुस्किलले दुई खेती गर्दै आएका किसान अहिले नियमित सिँचाइ सुविधा पाएपछि बसन्ते मकैसहित तीन खेती गर्न सफल भएका छन् ।
विशेषगरी गर्मीयाममा बाँझै रहने जमिन अहिले हराभरा देखिन थालेका छन् । सिक्टा नहरको पानीले खेतीयोग्य जमिनको उपयोग बढेसँगै किसानको आम्दानी पनि उल्लेख्य रूपमा बढ्न थालेको छ ।राप्तीसोनारी गाउँपालिका–८ का किसान राजेन्द्र खत्रीले नियमित सिँचाइ सुविधा उपलब्ध भएपछि गाउँको खेती प्रणाली नै बदलिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिला सिँचाइ अभावका कारण मुस्किलले दुई खेती हुन्थ्यो । अहिले सिक्टाको पानी लिफ्ट सिस्टममार्फत पाउन थालेपछि गाउँको मुहार नै फेरिएको छ ।”निकुञ्ज नजिक रहेको बालापुर क्षेत्रमा पहिले उत्पादनले वर्षभरी खानसमेत नपुग्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले अहिले तीन खेती गर्न थालेपछि घरखर्च धान्न मात्रै होइन, उत्पादन बेचेर आम्दानी गर्नसमेत सहज भएको बताउनुभयो ।
अगुवा किसान तथा सिँचाइ महासंघ बाँकेका पूर्वअध्यक्ष सालिकराम डाँगीले सिक्टा नहरले बाँकेका किसानको खेती चक्र परिवर्तन गरिदिएको बताउनुभयो ।उहाँका अनुसार आकाशे पानीको भरमा खेती गर्ने किसान अहिले बसन्ते मकैजस्ता नगदे बालीतर्फ आकर्षित भएका छन् ।उहाँले भन्नुभयो, “पहिले गर्मीयाममा धेरै जमिन खाली रहन्थ्यो । अहिले किसानले त्यही जमिनमा बसन्ते मकै लगाएर राम्रो आम्दानी गर्न थालेका छन् । बसन्ते मकै तुरुन्त बजारमा बिक्री हुने भएकाले किसानको रोजाइमा परेको छ ।”
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा कृषि अर्थ निर्देशक डा. विनोद घिमिरेका अनुसार जिल्लामा हाल ४ हजार २ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा बसन्ते मकै खेती भइरहेको छ ।उहाँले सिक्टा नहरबाट उपलब्ध सिँचाइ सुविधाकै कारण किसानको आकर्षण बसन्ते मकै खेतीतर्फ बढ्दै गएको बताउनुभयो ।
सिँचाइ अभावका कारण लामो समयसम्म वर्षाको भरमा खेती गर्दै आएका बाँकेका किसानका लागि सिक्टा सिँचाइ आयोजनाको पानी अहिले वरदान सावित भइरहेको छ । नहरमा नियमित पानी आउन थालेपछि गर्मीयाममा खाली रहने जमिन उपयोगमा आउन थालेका छन् भने किसानको जीवनस्तरमा समेत सकारात्मक परिवर्तन देखिन थालेको छ ।








प्रतिक्रिया राख्नुहोस्