तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा अतिक्रमित वन क्षेत्र पन्ध्र दिनभित्र खाली गर्न डिभिजन वनको पत्र

बैतडी । डिभिजन वन कार्यालय बैतडीले जिल्लाका विभिन्न स्थानमा अतिक्रमणमा परेको वन क्षेत्र १५ दिनभित्र खाली गर्न आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानमा वन क्षेत्र अतिक्रमण गरी केही व्यक्ति, संस्था र निकायले अनधिकृत संरचना निर्माण गरेकाले ती संरचनाहरू १५ दिनभित्र हटाउन आग्रह गरेको हो। 

जिल्लाको ढोल्यामोड, गिरिजा बगर, जमिटाँड,रसेडाखाली, रुइनचौर बजार, साँफे बजार, उचापत्थर, टकरे, जुकेपानी, भड्याखोला, गर्जे, ठाँड, चाप, लमखोला, सिरोडा, मुस्याचौर, बुढी चौर, डडिया, खोचलेक लगायत क्षेत्रमा वन अतिक्रमण गरी संरचना निर्माण गरिएका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले बताउनुभयो । 

यस्तै गिवाखोला, भूमीराज सुनुवागढी लगायतका सामुदायिक वनहरूको समेत क्षेत्र अतिक्रमणमा परेकाले ती क्षेत्रहरू खाली गर्न सूचनामार्फत आग्रह गरिएको गिरीले बताउनुभयो । वन ऐन २०७६ को दफा ४९ (ग) ले वन क्षेत्र अतिक्रमण निषेध गरेकाले अतिक्रमण गरिएका ठाउँमा १५ दिनभित्र खाली नगरे प्रचलित कानुन अनुसार अघि बढ्ने डिभिजन वन कार्यालयले जनाएको छ । 

यसअघि जिल्ला प्रशासन कार्यालय बैतडीले पनि सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउनका लागि कार्ययोजना बनाउन स्थानीय तहहरूलाई आग्रह गरेको थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button