प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट दुई पत्रकार सम्मानित
पोखरा । प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराल जनही १ लाख १ हजार १११ रुपैयाँ नगदसहित सम्मानित हुनुभएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उहाँहरुलार्ई दोसल्ला र सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

नेपाल पत्रकार महासङ्घ कास्कीले सञ्चालन गरेको तथा दयाशंकर पालिखेका परिवारद्वारा स्थापित उक्त सम्मान पत्रकारितामार्फत समाज, राष्ट्र र लोकतन्त्रमा पुर्याएको योगदानको कदर स्वरूप प्रदान गरिँदै आएको छ । कार्यक्रममा प्रदेश प्रमुख भट्टले सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामार्फत राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो । डिजिटल र एआईको युगमा बढ्दो चुनौतीबीच भ्रमपूर्ण सूचनालाई चिर्दै तथ्यपरक समाचार सम्प्रेषण गर्न उहाँले पत्रकारहरूलाई सुझाव दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिभा छनौट समितिका संयोजक रविन्द्र बाँस्तोला, पुरस्कार स्थापित परिवारबाट सुनयना पालिखे, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, प्रेस युनियन कास्कीका अध्यक्ष बासु मिश्र, महासङ्घ कास्कीका उपाध्यक्ष माधव रेग्मी, सचिव भुपाल गुरुङ लगायतले पत्रकारिताको बारेमा चर्चा गर्नुभएको थियो ।
तनहुँको दमौलीमा जन्मनु भएका बस्नेत विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । राष्ट्रिय समाचार समितिमा वरिष्ठ सम्पादकका रूपमा कार्यरत उहाँ विभिन्न राष्ट्रिय सञ्चार माध्यममा काम गरेको अनुभव रहेको छ । त्यस्तै, पोखराका बराल २०५५ सालदेखि पत्रकारितामा सक्रिय रहँदै अन्नपूर्ण पोस्ट दैनिक र बिबिसी नेपाली सेवामा कास्की संवाददाताका रूपमा कार्यरत हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्