तपाईँ सुन्दै हुनुहुन्छः

“२५ लाख भन्दा कम लागतका योजना समावेश नगर्ने”

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आगामी बजेटमा २५ लाख भन्दा कम लागतका योजना समावेश नगर्ने सरकारको नीति रहेको बताउनु भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज धनगढीमा आयोजित प्रदेश सभा सदस्यहरूसँगको नीति कार्यक्रम तथा बजेट तर्जुमा एवं कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री शाहले आगामी बजेटमा २५ लाख भन्दा कम लागतका योजनाका लागि बजेट बिनियोजन नगरिने र त्यसैअनुसार बजेट तथा योजना बनाउन मातहतका निकायलाई निर्देशन दिनुभयो ।

 मुख्यमन्त्री शाहले प्रदेशको विकास र समृद्धिका लागि समानुपातिक तथा न्यायोचित रुपमा बजेट वितरणको व्यवस्था गरिने बताउनु भयो । उहाँले सरकारको नीति कार्यक्रम र बजेटलाई प्रभावकारी बनाउन सहयोग पुग्ने गरि दलीय रुपमा सुझाव पेश गर्न प्रदेश सभा सदस्यहरूलाई आग्रह गर्नुभयो ।

 मुख्यमन्त्री शाहले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिने बताउनु भयो ।

 प्रदेश सरकारको नीति विपरीत कोटेशन मार्फत बजेट तथा योजना कार्यान्वयन गर्ने कर्मचारीलाई तत्काल कारबाही अघि बढाउन प्रमुख सचिवलाई उहाँले निर्देशन दिनुभयो ।

यस्तै, सभामुख भिम बहादुर भण्डारीले आगामी बजेटमा प्रत्येक जिल्लामा कम्तीमा ५ प्रतिशत बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरुले समग्र प्रदेशको विकास र समृद्धिलाई केन्द्रमा राखेर आगामी वर्षको नीति कार्यक्रम तथा बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रीगण, प्रदेश सभा सदस्य, उच्च पदस्थ सरकारी अधिकारी लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव देवराज जोशीले प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button