तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा कृषक पाठशाला स्थापना

बैतडी । बैतडीको सिगास गाउँपालिका–१ बचकोटमा कृषक पाठशाला स्थापना गरिएको छ । किसानलाई बारीमै कृषि प्रणालीबारे ज्ञान दिन पाठशाला स्थापना गरिएको हो । 

दिगो आम्दानी मार्फत महिला उद्यमीहरूको सशक्तिकरण परियोजना अन्तरगत जलवायुमैत्री कृषक पाठशाला सञ्चालन गरिएको परियोजना प्रमुख भूपाल बोहराले जानकारी दिनुभयो । 

पाठशालाले कृषकहरूलाई तरकारी खेती सम्बन्धित परामर्श दिने तथा रोग किराको नियन्त्रणका विधि अवलम्बन गर्दै उत्पादनमा वृद्धि गर्न टेवा पुर्‍याउने उहाँले बताउनुभयो । कृषि प्राविधिकले कृषककै बारीमा गएर प्रयोगात्मक रुपमा बाली लगाएर परम्परागत र तालिम दिँदा किसानलाई सहज हुने बताइएको छ ।

यसअघि यस परियोजनाबाट सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा पनि कृषक पाठशाला सञ्चालन गरिएको थियो । 

रासायनिक विषादीको प्रयोगमा कमी ल्याउँदै तरकारी खेतीमा अन्य वैकल्पिक विधिबाट रोग किराको नियन्त्रणका लागि कृषक पाठशाला सञ्चालन गर्न लागिएको जनाएको छ । 

आज बचकोटमा उद्घाटन गरिएको कार्यक्रममा सहभागी सिगास–१ का वडा अध्यक्ष रामचन्द्र ऐरले यस परियोजनाले महिलाहरूको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button