दरौँदी बगरमा खरबुजा खेती सफल, स्थानीय उत्साहित
गोरखा। गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौँदी नदीको बगरमा पहिलो पटक गरिएको खरबुजा खेती सफल भएको छ। परीक्षणका रूपमा सुरु गरिएको खेतीले राम्रो उत्पादन दिन थालेपछि स्थानीय कृषक उत्साहित भएका छन्।
गोरखा नगरपालिकाको सहयोगमा मुलुकी कृषि सहकारी संस्थाले ‘सरस्वती’ जातको खरबुजा खेती गरेको हो। करिब ६ रोपनी क्षेत्रफलमा चार हजार बिरुवा रोपिएकोमा अहिले उत्पादन सुरु भई बिक्रीसमेत भइरहेको सहकारीकी अध्यक्ष पुष्पा कुमालले जानकारी दिनुभयो।
यसअघि काँसले ढाकिएको नदी बगर सफा गरी खेती गरिएको हो। महिलामात्र आबद्ध सहकारीले समूहगत रूपमा काम बाँडफाँड गरी खेती सञ्चालन गरेको थियो।
कुमालका अनुसार पाँच हजार बिरुवा तयार पारिए पनि चार हजार मात्र रोपिएको थियो। पहिलो प्रयासमै राम्रो उत्पादन भएपछि स्थानीयमा खरबुजा खेतीप्रति आकर्षण बढेको छ।
नगरपालिकाले खेती सुरु गर्नुअघि कृषकलाई तालिम उपलब्ध गराएको थियो। तालिमपछि पुसमा बिउ राखिएको, फागुनमा रोपाइँ गरिएको र बैशाखदेखि उत्पादन सुरु भएको हो।
हाल उत्पादन भएको खरबुजा स्थानीय बजारमै प्रतिकेजी ६० रुपैयाँमा बिक्री भइरहेको छ। स्वाद राम्रो भएकाले उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको सहकारीले जनाएको छ।
खेती सफल भएपछि अन्य कृषक पनि यसतर्फ आकर्षित भएका छन्। सहकारीले आगामी दिनमा थप क्षेत्रफलमा खेती विस्तार गर्ने योजना बनाएको छ।
वडा नं. १० का वडाध्यक्ष प्रदीप कुँवरले पनि खरबुजा खेती विस्तारका लागि आवश्यक सहयोग र प्रोत्साहन गरिने बताउनुभएको छ।







प्रतिक्रिया राख्नुहोस्