तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा अझै २७ प्रतिशत घरधुरी विद्युत् सेवाबाट वञ्चित

सल्यान । चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म सल्यानमा चार हजारभन्दा बढी घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् सेवा विस्तार गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण, सल्यान वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार गत साउनदेखि अहिलेसम्म चार हजारभन्दा बढीको घरधुरीमा विद्युत् सेवा पुर्‍याइएको हो । 

योसँगै जिल्लाका करिब ७३ प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको छ भने तीमध्ये ६४ प्रतिशत उपभोक्ताले मिटर जडान गरिसकेका छन् ।

जिल्लामा विद्युतीकरणको काम तीव्र गतिमा अघि बढे पनि अझै करिब २७ प्रतिशत घरधुरी विद्युत् सेवाबाट वञ्चित छन् । बाँकी क्षेत्रमा लाइन विस्तारको काम जारी रहेको वितरण केन्द्रले जनाएको छ । 

सल्यानमा विद्युत् आपूर्तिका लागि तुल्सीपुरबाट आउने ३३ केभी राष्ट्रिय प्रसारण लाइन प्रयोग हुँदै आएको छ भने वनगाड कुपिन्डे नगरपालिकाको सल्लीबजार क्षेत्रमा सुर्खेत वितरण केन्द्रमार्फत सेवा उपलब्ध हुँदै आएको छ । जिल्लामा हाल सितलपाटी र थारमारेमा दुईवटा सबस्टेशन सञ्चालनमा रहेका छन् । 

जिल्लामा वार्षिक रूपमा करिब पौने नौ करोड रुपैयाँ बराबरको विद्युत् खपत हुने गरेको छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा एक करोड आठ लाख ४३ हजार ९६६ युनिट विद्युत् बिक्रीबाट आठ करोड ७५ लाख ३५ हजार ५३८ रुपैयाँ आम्दानी भएको वितरण केन्द्रले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button