तपाईँ सुन्दै हुनुहुन्छः

बोक्सीको आरोपमा दलित महिलामाथि अमानवीय व्यवहार

रौतहट । बोक्सीको आरोपमा रौतहटको कटहरिया नगरपालिकामा एक दलित महिलामाथि मानव मलमूत्र खुवाइएको जघन्य तथा अमानवीय घटना सार्वजनिक भएको   छ ।

कटहरिया नगरपालिका–९ की पूर्व वडा सदस्यसमेत करिब ५५ वर्षीय अंकलिया देवी मुसहरनी माथि स्थानीय केही व्यक्तिहरूले  दुर्व्यवहार गरेको आरोप लागेको हो ।

पीडित परिवारका अनुसार छिमेकी पुकार माझीको घरमा भएको विवाह कार्यक्रममा पर्साबाट सरियतिया (छोरी पक्षका जन्ती) आएको बेला एक १० वर्षीय बालक बिरामी भई वान्ता गरेपछि सोही घटनालाई आधार बनाई जादूटुना गरेको आरोप लगाउँदै शनिवार साँझ करिब १५–२० जनाको समूह पीडितको घरमा प्रवेश गरेको थियो ।

पीडितकी छोरी सुमिला देवीका अनुसार उक्त समूहले बलपूर्वक अंकलिया देवीलाई नियन्त्रणमा लिई बियरको बोतलमा घोलेर ल्याइएको मानव मलमूत्र खुवाएको थियो । विरोध गर्दा आफूहरूलाई कुटपिटसमेत गरिएको उहाँले बताउनुभयो ।

घटनापछि सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी टोली घटनास्थल पुगेर पीडितको उद्धार गरेको थियो । अचेत अवस्थामा फेला परेकी उहाँलाई प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको र हाल अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख मोहन आले मगरका अनुसार घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ । आरोपीहरूलाई पक्राउ गर्न प्रहरी टोली जाँदा स्थानीय केही व्यक्तिहरूले अवरोध तथा आक्रमणको प्रयाससमेत गरेका थिए ।

यसै गरी, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शङ्कर प्रसाद आचार्यले घटनाको गम्भीर अनुसन्धान भइरहेको र दोषीलाई कानुनअनुसार कडा कारबाही गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button