तपाईँ सुन्दै हुनुहुन्छः

लोप हुँदै परम्परागत ‘भकारी’

रौतहट। तराई–मधेशका जिल्लामा धान, गहुँ तथा अन्य अन्नपात भण्डारण गर्न प्रयोग हुने परम्परागत ‘भकारी’ पछिल्लो समय बिस्तारै लोप हुँदै गएको छ ।

  किसानहरूको पहिचान, दैनिकी र कृषि संस्कृतिसँग जोडिएको भकारी आधुनिक भण्डारण प्रणालीको बढ्दो प्रयोगसँगै ओझेलमा परेको हो ।

केही वर्षअघिसम्म प्रायः सबै किसानले बाँसबाट बनाइने भकारीमा धान तथा अन्न सुरक्षित राख्ने चलन व्यापक थियो । रौतहटको उत्तरी क्षेत्र वृन्दावन तथा चन्द्रपुर नगरपालिकाभरि पहिले जताततै देखिने भकारी अहिले दुर्लभजस्तै बनेको स्थानीयवासी बताउँछन् ।

पहिले हरेक घरमा अनिवार्यजस्तै मानिने भकारी अहिले देख्नै मुस्किल भएको उनीहरूको भनाइ छ । हाल रौतहटका केही भित्री गाउँमा मात्र यसको प्रयोग सीमित रहेको पाइन्छ । बृन्दावन नगरपालिका–७ सखुवा धमौरामा भने अझै केही किसानले परम्परागत बाँसका भकारी प्रयोग गरिरहेका छन् ।

वृन्दावनका स्थानीय सुरेश राउतले पहिले घरघरमा भकारी अनिवार्यजस्तै हुने गरेको स्मरण गर्दै अहिले आधुनिक सामग्रीका कारण यसको प्रयोग घट्दै गएको बताउनुभयो । उहाँले भकारी केवल अन्न राख्ने साधन नभई गाउँघरको संस्कृतिसँग जोडिएको पहिचानसमेत भएको धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै स्थानीय रामबाबु पटेलले भकारी बनाउन आवश्यक बाँस तथा परम्परागत सीप भएका जनशक्ति अभाव हुन थालेपछि यसको प्रयोग घटेको बताउनुभयो । स्थानीय उत्पादनलाई संरक्षण गर्न सके गाउँमै रोजगारी सिर्जना हुने र पुराना सीप पनि जोगिने उहाँको भनाइ छ ।

स्थानीय बाँस तथा अन्य सामग्रीबाट बनाइने भकारी वातावरणमैत्री, किफायती र दीर्घकालीन प्रयोगयोग्य मानिन्थ्यो । तर पछिल्लो समय प्लास्टिकका ड्रम, धातुका भाँडा तथा अन्य आधुनिक भण्डारण सामग्रीको प्रयोग बढ्दै जाँदा भकारीप्रतिको आकर्षण घट्दै गएको छ ।

जानकारहरूका अनुसार आधुनिकताको नाममा स्थानीय उत्पादन र सीपलाई बेवास्ता गर्दा परम्परागत ज्ञान र सीप हराउने जोखिम बढेको छ । स्थानीय सामग्रीबाट बन्ने यस्ता घरेलु उत्पादनलाई प्राथमिकता दिए ग्रामीण स्तरमै रोजगारी सिर्जना हुनुका साथै कृषि क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने उनीहरूको भनाइ छ ।

परम्परागत भकारीको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय तह तथा सरोकारवाला निकायले पहल गर्नुपर्ने आवाज उठ्न थालेको छ । किसानहरू भन्छन्, “परम्परा जोगाउने हो भने आधुनिकता र स्थानीयपनबीच सन्तुलन आवश्यक छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button