बाँकेमा तातो हावाको कहर : जनजीवन अस्तव्यस्त

बाँके । एक सातादेखि नेपालगन्जसहित बाँकेको तराई क्षेत्रमा तातो हावा ‘लु’ चल्न थालेपछि जनजीवन कष्टकर बन्दै गएको छ । तापक्रम निरन्तर उकालो लागेसँगै अत्यधिक गर्मीले दैनिक गतिविधि नै प्रभावित हुन थालेका छन् ।
बिहानैदेखि चर्को घाम र शरीर पोल्ने तातो हावा चल्न थालेपछि बजार क्षेत्रदेखि ग्रामीण बस्तीसमेत सुनसान जस्तै देखिन थालेका छन् । सर्वसाधारणको हिँडडुल घटेको छ भने अत्यावश्यक काम बाहेक मानिसहरू घरबाहिर निस्कन हिच्किचाउन थालेका छन् ।
जानकी गाउँपालिका वडा नं। ५ का अध्यक्ष तथा प्रवक्ता टिकानाथ यादवका अनुसार अचानक बढेको गर्मी र ‘लु’ का कारण स्थानीयको जनजीवन प्रत्यक्ष प्रभावित भएको छ । “बिहान र साँझ बाहेक बाहिर निस्कनै कठिन भएको छ, दिउँसो त बजार नै सुनसान देखिन्छ,” उहाँले भन्नुभयो ।
गर्मीको सबैभन्दा बढी असर दैनिक ज्यालादारी गर्ने विपन्न वर्गमा परेको छ । कामकै खोजीमा सडकमा निस्कनेहरू अहिले घरमै बस्न बाध्य छन् । अटो रिक्सा चालकहरू पनि समस्यामा परेका छन् । स्थानीय चालक रमेश बर्माले अत्यधिक गर्मीका कारण सवारी सञ्चालन गर्न जाँगर घटेको र बेहोस हुने डरसमेत बढेको बताउनुभयो । यात्रु अभावका कारण आम्दानी समेत घटेको उहाँले गुनासो गर्नुभयो ।
यसबीच, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आगामी तीन दिनसम्म मध्यम स्तरको तातो लहर चल्ने जनाएको छ ।
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु र रुपन्देहीमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ ।
स्वास्थ्य विज्ञहरूले भने सावधानी अपनाउन आग्रह गरेका छन् । भेरी अस्पतालका वरिष्ठ चिकित्सक डा.सङ्केतकुमार रिसालका अनुसार शरीरमा पानीको कमी हुन नदिन प्रशस्त पानी, जुस तथा झोल पदार्थ सेवन गर्न आवश्यक छ । असामान्य लक्षण देखिए तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिन उहाँले सुझाव दिनुभयो ।
त्यस्तै, छालारोग विशेषज्ञ डा.आरके झाले अत्यधिक गर्मीका कारण छाला पोल्ने, एलर्जी र घमौरा बढ्ने भएकाले हल्का सुती कपडा लगाउने, टाउको छोप्ने र अनावश्यक रूपमा घाममा ननिस्कन आग्रह गरेका छन् ।
बढ्दो गर्मी र ‘लु’ को प्रभाव अझै केही दिन रहने सङ्केतसँगै स्थानीयवासी सतर्कता अपनाउँदै दैनिक जीवन व्यवस्थापन गर्न बाध्य बनेका छन् ।








प्रतिक्रिया राख्नुहोस्