तपाईँ सुन्दै हुनुहुन्छः

बेमौसमी मकै खेतीमा किसानको आकर्षण

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियाका किसानले खेती प्रणाली नै परिवर्तन गरेका छन् । एक समय तरकारीको पकेट क्षेत्रका रूपमा चिनिएको हिरमिनिया अहिले बेमौसमी मकै खेतीको केन्द्र बन्दै गएको छ । 

करिब ६ सय घरधुरीमध्ये अधिकांश किसान अहिले मकै खेतीमा व्यस्त छन् । तरकारी खेतीमा बजार अभाव, भण्डारणको समस्या र बारम्बारको नोक्सानीपछि किसानहरू विकल्प खोज्न बाध्य भए । त्यसपछि उनीहरूले रोजे—बेमौसमी मकै खेती । अहिले धेरै किसानले आफ्नै जमिनसँगै भाडामा जग्गा लिएर समेत व्यावसायिक रूपमा मकै खेती विस्तार गरिरहेका छन् । 

मकै खेतीमा तल्लीन किसान नेतराम मौर्यले २०० कठ्ठामा मकै खेती गरिरहेको बताउनुभयो । तरकारीले बजार नपाउँदा मकै खेतीमा लागेको मौर्यको भनाई छ । तर, मकै खेती पनि समस्यामुक्त भने छैन । उन्नत बीउ र मलको अभाव किसानका लागि ठूलो चुनौती बनेको छ । समयमै मल नपाउँदा उत्पादनमा असर पर्ने गरेको किसानहरू बताउँछन् । जेनतेन बीउ र मलको व्यवस्थापन गर्दै खेती गरिरहेको अर्का किसान राधेश्याम यादवको भनाई छ । 

किसानहरू स्थानीय सरकारप्रति पनि असन्तुष्ट छन् । अनुदान, बीमा र प्राविधिक सहयोगको अभावमा आफ्नै बलबुतामा खेती गर्नुपरेको उनीहरूको गुनासो छ । शीत भण्डारको व्यवस्था नहुँदा तरकारी खेर जाने अवस्था बनेपछि मकै खेतीमा लागेको किसान मुनिर लोधले बताउनुभयो । आजभोलि हिरमिनियाका खेतहरू हरियाली मकै बारीले ढाकिएका छन् । यो क्षेत्र अब बिस्तारै तरकारी पकेटबाट मकै जोनमा रूपान्तरण हुँदैछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button