स्वाद, संस्कृति र पर्यटन जोड्ने नेपालगञ्ज फेस्टिवल सुरु
बाँके । नेपालगञ्जलाई ‘स्वादको सहर’का रूपमा स्थापित गर्ने लक्ष्यसहित आयोजना गरिएको ‘नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिवल–२०२६’ शुक्रबारदेखि सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले फेस्टिवलको औपचारिक उद्घाटन गर्नुभयो ।
वाटरपार्क क्षेत्रमा सुरु भएको तीनदिने फेस्टिवलले नेपालगञ्जको रात्रीकालीन जीवनलाई नयाँ ऊर्जा दिएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति, झिलिमिली वातावरण तथा विभिन्न परिकारका स्टलहरूले आकर्षण थपेका छन् । करिब एक करोड रुपैयाँको लगानीमा होटल व्यवसायी संघ बाँके नेपालगञ्ज र होटल एसोसिएसन नेपाल (हान) नेपालगञ्ज च्याप्टरको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन भइरहेको छ ।
उद्घाटन समारोहमा नगर प्रमुख विष्टले नेपालगञ्जलाई स्वाद र आतिथ्य संस्कृतिको केन्द्रका रूपमा विकास गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । उहाँले स्थानीय तथा बाह्य पर्यटकको सहभागिताले बाँकेसहित आसपासका जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वक्ताहरूले पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा उल्लेख गर्दै नीतिगत सहजीकरणको आवश्यकता औंल्याएका छन् । हानका केन्द्रीय अध्यक्ष विनायक शाहले नेपालगञ्जलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको ‘गेटवे’का रूपमा विकास गर्न सकिने बताउनुभयो ।
त्यस्तै, होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर भण्डारीले ‘पर्यटनको सुरुवात स्वादबाट हुन्छ’ भन्दै यस्ता फेस्टिवलले स्थानीय अर्थतन्त्र चलायमान बनाउने धारणा राख्नुभयो ।
फेस्टिवलमा ५५ वटा स्टलमार्फत विभिन्न प्रकारका खाना तथा पेय पदार्थ सहुलियत मूल्यमा उपलब्ध गराइएको छ । राति अबेरसम्म सञ्चालन हुने फेस्टिवलले नेपालगञ्जलाई स्वाद, संस्कृति र पर्यटनको संगमस्थलका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्