तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ संसद् भवन र ग्यालरी बैठक निर्माणको प्रगतिबारे समितिमा छलफल

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण कार्यलाई तीव्रता दिनुपर्ने बताउनुभएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरूले समयसीमा नाघिसक्दा पनि नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण कार्य पूरा नभएकोप्रति असन्तुष्टि जनाउँदै निर्माण कार्यमा भएको ढिलाइको स्पष्टता र जबाफदेहिता आवश्यक रहेकोमा जोड दिनुभयो ।

सांसदहरूले भवनहरूमा अपाङ्गमैत्री तथा महिला–बालबालिकामैत्री सुविधाको व्यवस्था सुनिश्चितता गर्दै ग्यालरी बैठक भवन भित्रका ऐतिहासिक तथा बहुमूल्य चित्रहरूको संरक्षणमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

बैठकमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले नयाँ संसद् भवनमा ९४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको र यही असारसम्म निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो । 

पुरातत्त्व विभागका प्रवक्ता सन्दिप खनालले करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको ग्यालरी बैठक भवन भित्रका ऐतिहासिक सम्पदाहरूको संरक्षणमा संवेदनशीलता अपनाउन सुझाव राख्नुभयो ।

बैठकपछि समितिका पदाधिकारीहरूले निर्माणाधीन ग्यालरी बैठक भवनको अनुगमन समेत गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button