तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा ‘हटारु’ इतिहास झल्काउने प्रतिमा स्थापना

बाँके। पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज बजार आधुनिक विकाससँगै परिवर्तन हुँदै गएको छ । तर केही वर्षअघिसम्म यो बजार पहाडी जिल्लाबाट हप्तौँ पैदल यात्रा गरेर आउने सर्वसाधारणका लागि मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको थियो ।

त्यतिबेला नुन, कपडा, तेलजस्ता अत्यावश्यक सामान लिन आउने यात्रुहरूलाई स्थानीय भाषामा ‘हटारु’ भनिन्थ्यो । उनीहरूले लामो यात्रा गरेर नेपालगन्ज पुग्ने र आवश्यक सामान बोकेर गाउँ फर्किने गर्थे । इतिहासविद् सनतकुमार रेग्मीका अनुसार त्यतिबेला नेपालगन्ज ‘खसियारी बजार’ का नामले परिचित थियो । हटारुहरूले ल्याउने घ्यू र जडीबुटी यहाँको व्यापारको महत्वपूर्ण आधार बनेको थियो ।

हटारुहरूको आवतजावतलाई सहज बनाउन सल्यानी र दैलेखी बङ्गला समेत निर्माण गरिएको थियो, जहाँ उनीहरू बस्ने र भेटघाट गर्ने गर्थे ।

यस ऐतिहासिक परम्परालाई जगेर्ना गर्ने उद्देश्यले रुकुमेली सेवा समाज बाँकेले नेपालगन्ज–४ स्थित सल्यानी बङ्गलामा ‘हटारु’ को प्रतिमा स्थापना गरेको छ । डोको, नाम्लो र लौरोसहितको स्वरूपमा बनाइएको प्रतिमाले त्यस समयको जीवनशैली झल्काउने विश्वास गरिएको छ ।

समाजका अध्यक्ष दीपेन्द्र खड्काले यसलाई इतिहास संरक्षणको प्रयास भएको बताउनुभएको छ । उहाँका अनुसार यो प्रतिमाले नयाँ पुस्तालाई पुरानो जीवनशैली र संस्कृतिबारे जानकारी दिनेछ ।

वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले सो क्षेत्रलाई संग्रहालयका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो । वडा सदस्य रुमिता देवकोटाले यसले शिक्षा र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीयका अनुसार आधुनिक नेपालगन्ज बजार विस्तार भए पनि हटारु संस्कृतिको सम्झना अझै जीवित छ । ‘हटारु’ प्रतिमा र प्रस्तावित संग्रहालयले त्यस इतिहासलाई नयाँ पुस्तासम्म पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button