‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी–२०८३’ सुरु
रुपन्देही । बुटवलमा पहिलो पटक ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी–२०८३’ सुरु गरिएको छ । विश्व सम्पदा दिवसको अवसर सुरु गरिएको यो प्रदर्शनीमा सबै रैथाने उत्पादनहरू राखिएको छ ।

सांस्कृतिक, ऐतिहासिक तथा मौलिक सम्पदाको संरक्षणका लागि मनाइने यस दिवसले नेपालजस्तो बहुजातीय, बहुसांस्कृतिक देशमा विशेष महत्व राख्ने र नेपालका गाउँ, बस्ती र समुदायमा रहेका रैथाने सीप, कला तथा उत्पादनहरू केवल सांस्कृतिक धरोहर मात्र नभई देशको आर्थिक विकासका सम्भावित आधार पनि मानिने यसका विज्ञहरुले बताउनुभएको छ । तर पछिल्लो समय आधुनिकीकरण, आयातित वस्तुको बढ्दो प्रयोग तथा स्थानीय सीपप्रति घट्दो आकर्षणका कारण यस्ता मौलिक सम्पदाहरू लोप हुने अवस्थामा पुगेका चिन्ता उहाँहरूको छ ।
स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालले पहिलो पटक काठमाडौँ बाहिर रैथाने सीप, कला र उत्पादनको प्रदर्शनी सुरु गरेको हो । स्वदेशी उत्पादनको बजारीकरणसँगै ब्राण्डिङ गरेर व्यावसायिक रूपमा अघि बढाउने उद्देश्यले प्रतिष्ठानले यस्तो प्रदर्शनी आयोजना गरेको जनाएको छ ।
पूर्व सचिव डा. मानबहादुर बिकेले सेवा निवृत्त भएपछि प्रतिष्ठानमार्फत रैथाने सीप, कला तथा वस्तुको संरक्षण अभियान सुरु गर्नुभएको हो । उहाँले तीन वर्षअघि सेवा निवृत्त भएपछि रैथाने सीप, कला तथा उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले अभियान थालेको बताउनुभयो । उहाँले काठमाडौँ बाहिर पहिलो पटक बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी–२०८३’ सुरु गरिएको जानकारी दिनुभयो ।
विश्व सम्पदा दिवसको अवसर पारेर ‘हाम्रो पुस्ताको ज्ञान, हाम्रो देशको शान (स्थानीय सीप र कलाको जगेर्ना हाम्रो अभियान)’ भन्ने नारासहित प्रदर्शनी सुरु गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीमा परम्परागत रैथाने उत्पादनहरू मात्रै समावेश गरिएको छ । उहाँले यस प्रकारको प्रदर्शनी नेपालमै नयाँ र पहिलो प्रयास भएको उल्लेख गर्नुभयो । परम्परागत रैथाने उत्पादनले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने भएकाले यसको संरक्षण र बजार विस्तारमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । उत्पादनशील क्षेत्र, मानव सभ्यताको विकास भएको स्थान र यस्ता उत्पादनको संयोजन गर्न सकिने सम्भावना भएकाले बुटवललाई प्रदर्शनीका लागि छनोट गरिएको उहाँले जानकारी दिनुभयो ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल र खस्यौली बजारको संयोजनमा प्रदर्शनी सञ्चालन गरिएको हो । प्रदर्शनीमा स्थानीय सीपसम्बन्धी प्रत्यक्ष प्रदर्शन, हस्तकला तथा स्थानीय उत्पादनका करिब पाँच दर्जन स्टल, मौलिक खाना परिकार, झाँकी तथा सांस्कृतिक प्रस्तुति समावेश गरिएको छ । विभिन्न जातीय सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएका छन् ।
प्रदर्शनीमार्फत लोपोन्मुख सीपको संरक्षण, स्थानीय उत्पादनको बजार पहुँच विस्तार, सांस्कृतिक सम्पदाप्रति जनचेतना अभिवृद्धि तथा रोजगारी र आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक रेवन्तबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
रैथाने उत्पादनको बजारीकरण अभियान सञ्चालन गर्दै आउनुभएका खस्यौली बजारका व्यवस्थापक समुन्द्र घिमिरेले स्थानीय उत्पादनको आफ्नै महत्व रहेको उल्लेख गर्नुभयो । उहाँले मेलामा उत्पादकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइएको र प्रदर्शनीले उत्पादक र उपभोक्ताबीच पुलको काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
देश र समाजलाई जोड्न रैथाने सीपको संरक्षण आवश्यक रहेको उहाँले बताउनुभयो । नेपाली परम्परागत उत्पादनहरू स्वदेशीसँगै विदेशी बजारमा पनि बिक्री हुनसक्ने उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा सहकार्य गर्न आफूहरू तयार रहेको उहाँको भनाइ छ । रैथाने वस्तु र संस्कृतिको संरक्षण आफ्नो अभियान रहेको र विशेषगरी नयाँ पुस्तालाई यसमा जोड्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
गन्दर्भ समाजका केन्द्रीय अध्यक्ष कर्णबहादुर गन्दर्भले इतिहास बोलेका कला र संस्कृतिको संरक्षणका लागि सबैलाई आग्रह गर्नुभयो ।
नेपालमा उत्पादन हुने रैथाने वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने सम्भावना बोकेका छन् । विश्व बजारमा हस्त निर्मित वस्तुहरूको माग बढ्दै गएको छ । प्राकृतिक सामग्रीबाट बनेका वस्तु, सांस्कृतिक पहिचान बोकेका सामग्री र परम्परागत हस्तकला वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारले प्राथमिकता दिन थालेको छ । यस्तो अवस्थामा नेपालका रैथाने उत्पादनलाई ब्राण्डिङ गरेर निर्यात गर्न सकिने सम्भावना उच्च रहेको देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्