नेपालगञ्जमा वन्डरल्याण्ड वाटर पार्क आकर्षणको केन्द्र बन्दै
बाँके। तराई क्षेत्रमा गर्मी बढ्दै जाँदा नेपालगञ्ज आसपासका बासिन्दा तथा पर्यटकका लागि जानकी गाउँपालिका–६ मनिकापुरस्थित “वन्डरल्याण्ड वाटर एण्ड फन पार्क” प्रमुख आकर्षण बनेको छ।
करिब ३० करोड रुपैयाँ लागतमा निर्माण गरिएको उक्त पार्क पश्चिम नेपालकै ठूलो वाटर पार्क भएको दाबी गरिएको छ। गर्मी सुरु भएसँगै यहाँ आन्तरिक तथा भारतीय पर्यटकको आगमन बढेको व्यवस्थापनले जनाएको छ।

पार्कमा मल्टी स्लाइड, बडी वेभ स्लाइड, हाई स्पिड स्लाइड, वेभ पुल, रेन डान्स लगायतका वाटर एक्टिभिटी उपलब्ध छन्। रेन डान्स क्षेत्र विशेषगरी युवापुस्तामाझ लोकप्रिय बनेको छ।
करिब १०० कठ्ठा क्षेत्रमा फैलिएको पार्कमा टोट्स एक्टिभिटी, वाटर केज, फुड कोर्टसहितका सुविधा छन्। पानीको स्वच्छताका लागि २० भन्दा बढी वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिएको छ।

३ फिटभन्दा कम उचाइका बालबालिकालाई निःशुल्क प्रवेश दिइएको छ भने अन्यका लागि प्रतिव्यक्ति ६ सय रुपैयाँ शुल्क तोकिएको छ।
सञ्चालकका अनुसार शनिबार र सार्वजनिक बिदामा ५०० देखि १ हजारसम्म र अन्य दिनमा १०० देखि ४०० जना पर्यटक आउने गरेका छन्।
स्थानीयवासीका अनुसार यस्तो सुविधा नेपालगञ्जमै उपलब्ध हुनु गर्मी छल्ने राम्रो विकल्प बनेको छ।








प्रतिक्रिया राख्नुहोस्