तपाईँ सुन्दै हुनुहुन्छः

विपद् पूर्वतयारीमा जुट्दै जुम्लाका स्थानीय तह 

जुम्ला  । जुम्लाका स्थानीय तह विपद् पूर्वतयारीमा जुटेका छन् । 

प्राकृतिक तथा गैर प्राकृतिक प्रकोप जन्य घटनाबाट हुने क्षति न्यूनीकरण तथा राहत उद्धार र पुनर्स्थापनालाई प्रभावकारी बनाउन स्थानीय तह विपद् पूर्वतयारीमा जुटेका हुन् ।

नयाँ सरकारले गरेको निर्देशानुसार जुम्लामा घट्न सक्ने विपद्जन्य घटनाबाट नागरिकलाई सुरक्षित राख्न र प्रकोपबाट हुनसक्ने क्षतिलाई रोक्न पूर्वतयारीलाई मजबुद बनाउन सक्रियता बढाइएकाले प्रमुख जिल्ला अधिकारी दीपक  पौडेलले बताउनुभयो।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ पौडेलले जिल्लाका आठै पालिकालाई विपद् प्रतिकार्य योजना तयार गर्न, पालिकामा भएका उद्धार सामाग्री सुरक्षाकर्मीलाई बुझाउन र समन्वय सहकार्यलाई प्रभावकारी बनाउन निरन्तर छलफल भइरहेको उल्लेख गर्नुभयो । 

विपद पूर्वतयारीलाई मजबुद बनाउने विषयमा विभिन्न १३ वटा निर्णय गर्दै बिहीबार जुम्लामा विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।

जिल्लाकै सबै पालिका प्रमुख तथा प्रतिनिधि, विषयगत कार्यालयको सहभागिता सम्पन्न बैठकले विपद् पूर्वतयारीमा सबै सक्रिय हुनु पर्ने साँझा प्रतिबद्धता व्यक्त गरेका छन् । 

आठै पालिकाले आवश्यक उद्धार सामाग्री खरिद गर्ने, प्रतिकार्य योजना बनाउने, प्रत्येक वडामा २५ जना सामुदायिक उद्धारकर्ता तयार गर्ने,आधारभूत तहको पाठ्यक्रममा विपद शिक्षा समावेश गर्ने,सिंजा क्षेत्रमा सुरक्षा बेस खटाउने, विपद कोष सक्रिय बनाउने, निर्णय गरिएको छ । 

साथै सुरक्षाको निगरानीमा रहने गरी विपद गोदाम घर निर्माण गर्ने,प्राथमिक उपचारका लागि कर्णाली प्रतिष्ठानसँग समन्वय गर्ने, गैससका विपद उद्धारका कार्यक्रम एकद्धार प्रणालीबाट सञ्चालन गर्ने,नदीजन्य वस्तुको अवैध उत्खनन् तत्काल रोक्ने र व्यवस्थित बनाउन पालिकाले नीति बनाउने लगायतका १३ वटा निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । 

विपद् बैठकमा सशस्त्र प्रहरीका एसपी देव बहादुर बोहोराले जिल्लाको विपद्को स्थिति, पूर्वतयारी तथा विपद सम्बन्धित ऐन कानुनका विषयमा प्रस्तुतीकरण गरेका थिए । चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले विपद व्यवस्थापन एक व्यक्ति र संस्थाले मात्रै सम्भव नभएकाले सबै निकायको साँझा पहल समन्वय जरुरी रहेको बताउनुभयो। 

गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रिय सदस्य पूर्ण प्रसाद धितालले २०७९ जस्तो विनासकारी बाढी पहिरोको कहरबाट नागरिकलाई जोगाउन पूर्व तयारीका निर्णय कार्यान्वयन, समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । 

पूर्वसूचना प्राप्त, तत्काल जनशक्ति परिचालन, राहत उद्धार तथा पुनर्स्थापना लागि अन्तरपालिका बीच हातेमालो हुनु पर्ने कार्यक्रममा सहभागी सरोकारवालाले जोड दिएका छन् । 

विपद्का बेला सडक अवरुद्ध, खाद्यान्न आपूर्ति, पुनर्स्थापना, उपचार लगायतका राहत उद्धारका कार्य छिटो छरितो गर्नका लागि सडक, खाद्य, स्वास्थ्य, कृषि लगायतका सरोकारवाला निकाय तैनाथ हुनु पर्ने नेपाल पत्रकार महासङ्घका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button