तपाईँ सुन्दै हुनुहुन्छः

दुई वर्ष देखि विद्युत् उत्पादन बन्द, अन्धकारमै बस्न बाध्य स्थानीय

बैतडी । बैतडीको पाटन नगरपालिका ६ स्थित सुर्नयागाड जलविद्युत आयोजनाबाट दुई वर्ष देखि विद्युत् उत्पादन बन्द भएको छ। स्थानीयस्तरमा जलविद्युत् आयोजनाको प्राविधिक व्यवस्थापन गर्न नसक्दा सुर्नयागाड जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको हो ।आयोजनाको एडीआर प्रणालीमा समस्या आएपछि विद्युत् उत्पादन बन्द भएको विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

एक सय किलोवाट विद्युत् उत्पादन गर्दै आएको उक्त विद्युतको एडीआर प्रणालीमा समस्या आएकाले विद्युत् उत्पादन बन्द भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख अषेश्वर शाहले बताउनुभयो ।

यस अघि २ सय किलोवाट क्षमताको सुर्नयागाड जलविद्युत आयोजना २०७९ जेठदेखि बन्द रहेको थियो । २०८० माघदेखि एक सय किलोवाट विद्युत् उत्पादन शुरु गरिएको भएपनि विद्युत् प्रणालीमा समस्या आएपछि फेरि बन्द भएको हो । २०७९ जेठ १४ गतेदेखि पूर्ण रुपमा बन्द रहेकोमा विद्युत् गृहले मर्मत गरी सञ्चालन गर्नका  लागि विद्युत् प्राधिकरणको आयोजना विकास विभाग र विद्युत् वितरण केन्द्र बैतडीको प्राविधिक टोलीले स्थलगत अनुगमन समेत गरेको थियो ।

२ सय किलोवाट क्षमताको सुर्नयागाड जलविद्युत आयोजना पूर्ण रुपमा बन्द रहेकाले त्यसलाई सञ्चालन गर्नका लागि पहल शुरु गर्न उक्त स्थलगत अनुगमन गरिएको भएपनि आयोजनाको नहर र अन्य संरचना सहित प्राविधिक सिस्टममा समस्या आएपछि सुर्नयागाड जलविद्युत आयोजना बन्द भएको केन्द्र प्रमुख शाहले बताउनुभयो । नहर मर्मत गरेर बन्द रहेको आयोजना सञ्चालनमा ल्याउनका लागि पहल गरिने उहाँको भनाइ रहेको छ ।  

सुर्नयागाड जलविद्युत आयोजनाबाट केही वर्षदेखि विद्युत् उत्पादन बन्द भएकाले उपकरणहरूमा समेत समस्या हुन सक्ने जनाइएको छ । केही उपकरणमा पूर्ण समस्या आएकाले प्राविधिक टोलीको अध्ययनपछि उपकरणले साथ दिएमा पूर्ण उत्पादनका लागि पहल हुने विद्युत् वितरण केन्द्र बैतडीका प्राविधिक प्रमुख माधव प्रसाद लेखकले बताउनुभयो ।

विद्युत् गृहको मर्मत गरी सञ्चालन गर्नका  लागि विद्युत् प्राधिकरणको आयोजना विकास विभाग र विद्युत् वितरण केन्द्र बैतडीको प्राविधिक टोलीले गरेको स्थलगत अनुगमन प्रतिवेदन अनुसार आयोजना सञ्चालनका विषयमा काम अघि बढ्ने बताइएको छ । बैतडीको सुर्नया नदीमा सञ्चालित अधिकांश लघु जलविद्युत आयोजना बन्द छन्। आयोजना बन्द हुँदा दुर्गम बस्तीका नागरिक अन्धकारमै बस्न बाध्य भइरहेकाले दुई सय किलोवाटको सुर्नयागाड जलविद्युत सञ्चालनमा आए सहज हुने विद्युत् वितरण केन्द्र पाटन युनिट इन्चार्ज अर्जुन ऐरीले बताउनुभयो ।

पछिल्लो समय प्राविधिक व्यवस्थापनको अभाव लगायतका समस्याका कारणले जिल्लाभरिका लघुजलविद्युत् आयोजना धमाधम बन्द हुँदै गएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button