बसपार्क अभावमा मार्तडी बजार अस्तव्यस्त, सडकमै सवारीसाधन पार्किङ

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा व्यवस्थित बसपार्क नहुँदा सवारी पार्किङ समस्या जटिल बन्दै गएको छ। दैनिक रूपमा लामो तथा छोटो दूरीका दर्जनौँ सवारीसाधन आवतजावत गर्ने यस क्षेत्रमा पार्किङ व्यवस्थापन नहुँदा सडक नै पार्किङ स्थलका रूपमा प्रयोग भइरहेको छ।
यातायात व्यवसायी विक्रम साउँदका अनुसार काठमाडौं, नेपालगञ्ज, महेन्द्रनगर, धनगढी र अत्तरिया लगायत स्थानबाट दैनिक दुई दर्जनभन्दा बढी सवारीसाधन मार्तडी आउने–जाने गर्छन्। तर बसपार्क नहुँदा गाडी राख्ने ठाउँ अभाव भएको उनले बताए। “बसपार्क नहुँदा सडकमै पार्किङ गर्नुपरेको छ,” उनले भने। स्थानीय सरकारलाई पटक–पटक जानकारी गराए पनि ठोस पहल नभएको उनको गुनासो छ।

बसपार्क अभावका कारण तुफानडाँडादेखि कारागारसम्मको करिब पाँच सय मिटर सडकखण्डमा सवारीसाधन पार्किङ हुने गरेको छ। यसले यातायात व्यवस्थापन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढाएको स्थानीयको भनाइ छ।
यता, बडिमालिका नगरपालिका–८ स्थित पाल्त क्षेत्रमा बसपार्क निर्माण सुरु भएको झण्डै सात वर्ष बितिसक्दा पनि काम पूरा हुन सकेको छैन। निर्माण कार्य अलपत्र परेपछि स्थानीयवासी र यातायात व्यवसायी थप समस्यामा परेका छन्।
नगर प्रमुख अम्मर खड्काका अनुसार पाल्त क्षेत्रमा निर्माणाधीन बसपार्कलाई कोल्टीतर्फ सञ्चालन हुने जिपका लागि प्रयोग गर्ने योजना छ। दीर्घकालीन समाधानका रूपमा बाउली क्षेत्रमा व्यवस्थित बसपार्क निर्माण गर्ने तयारी भइरहेको उनले बताए।
बसपार्क अभावले मार्तडी बजार क्षेत्रको यातायात व्यवस्थापन अस्तव्यस्त बनेको छ।







प्रतिक्रिया राख्नुहोस्