लुम्बिनीमा भैंसी नस्ल सुधार अभियान : ६० अर्बको दुग्ध उत्पादन लक्ष्य
रुपन्देही । लुम्बिनी प्रदेशमा भैंसीको नस्ल सुधार तथा उत्पादन वृद्धि मार्फत दुग्ध उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यसहित महत्वाकांक्षी कार्यक्रम अघि बढाइएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी निर्देशनालयले विज्ञहरूको सुझावका आधारमा तराई केन्द्रित भैंसी नस्ल सुधार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
प्रदेश सरकारको पहलमा विज्ञ, वैज्ञानिक तथा प्राविधिकको सहभागितामा गरिएको अध्ययनपछि कार्यक्रम कार्यान्वयनको तयारी गरिएको वरिष्ठ पशु चिकित्सक लोक राज भुसालले जानकारी दिनुभयो। उहाँका अनुसार नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिनेछ।
प्रदेश सरकारले विगत दुई वर्षदेखि सहकारीमार्फत प्रत्येक जिल्लामा १५ लाख रुपैयाँ बजेटसहित नमुना कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसको प्रभावकारिता मूल्याङ्कनपछि आगामी चरणमा दुईदेखि चार करोड रुपैयाँसम्म लगानी आवश्यक पर्ने देखिएको भुसालले बताउनुभयो।
कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भए आगामी १० वर्षभित्र लुम्बिनी प्रदेशमै वार्षिक ५५ देखि ६० अर्ब रुपैयाँ बराबरको दूध उत्पादन सम्भव हुने अनुमान गरिएको छ। यसले लाखौं रोजगारी सिर्जना गर्नुका साथै कृषि तथा पशुपालन क्षेत्रमा आर्थिक रूपान्तरण ल्याउने अपेक्षा गरिएको छ।
हाल प्रदेशमा रहेका मौलिक भैंसीको उत्पादकत्व बढाएर प्रति भैंसी दैनिक एक लिटर दूध वृद्धि गर्न सके मात्रै पनि करिब ६ अर्ब रुपैयाँ बराबरको अतिरिक्त उत्पादन हुने जनाइएको छ। प्रदेशमा रहेका करिब दुई लाख १८ हजार भैंसीको उत्पादकत्व सुधारबाट ठूलो आर्थिक लाभ हुने देखिएको छ।
राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका प्रमुख डा. हेमराज अवस्थीले लुम्बिनी प्रदेशमा भैंसी पालनको उच्च सम्भावना रहेको उल्लेख गर्दै नस्ल सुधार, उत्पादकत्व वृद्धि र व्यवसायीकरणमा केन्द्रित कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
कार्यक्रम अन्तर्गत कृत्रिम गर्भाधान विस्तार, उन्नत मुर्रा नस्लको प्रयोग, प्रजनन केन्द्र स्थापना, सन्तुलित आहार व्यवस्था, पशु स्वास्थ्य सेवा विस्तार, दूध संकलन केन्द्र स्थापना तथा बजार व्यवस्थापन सुधार गरिनेछ। साथै डिजिटल रेकर्ड प्रणाली, भ्रूण प्रत्यारोपण, हिट सिन्क्रोनाइजेसन जस्ता आधुनिक प्रविधिको प्रयोग गरिने योजना छ।
यो कार्यक्रम पाँच चरणमा कार्यान्वयन गरिनेछ—पहिलो वर्ष आधारभूत सर्वेक्षण, दोस्रो वर्ष नस्ल सुधार विस्तार, तेस्रो वर्ष उत्पादन वृद्धि, चौथो वर्ष बजार विकास तथा व्यवसायीकरण र पाँचौं वर्ष विस्तार तथा दिगोपनमा केन्द्रित हुनेछ।
कार्यक्रमले ३० प्रतिशत भैंसीलाई उन्नत नस्लमा स्तरोन्नति गर्ने, दूध तथा मासु उत्पादन उल्लेखनीय रूपमा बढाउने र किसानको आम्दानी कम्तीमा ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको छ। साथै भैंसी उत्पादनलाई ब्रान्डिङ गर्दै निर्यात प्रवर्द्धन गर्ने योजना पनि अघि सारिएको छ।
अध्ययन अनुसार लुम्बिनी प्रदेशमा सात लाख ५७ हजारभन्दा बढी भैंसी रहेका छन्। तर अधिकांश स्थानीय र कम उत्पादनशील हुनु, सन्तुलित आहारको अभाव, पशु स्वास्थ्य सेवाको कमी, बजार व्यवस्थापन कमजोर हुनु तथा वित्तीय पहुँच सीमित हुनुजस्ता समस्या देखिएका छन्।
विज्ञहरूले लुम्बिनीलाई दुग्ध उत्पादनको प्रमुख केन्द्र बनाउन भैंसी नस्ल सुधार कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भए प्रदेश दुग्ध उत्पादनमा आत्मनिर्भर मात्र नभई निर्यातमुखी बन्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्