तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा घरेलु तथा सामाजिक हिंसा बढ्दो, सात महिनामा ७५३ उजुरी

रौतहट। रौतहटमा घरेलु तथा सामाजिक हिंसाका घटना बढ्दै गएको देखिएको छ। चालु आर्थिक वर्षको श्रावणदेखि फागुनसम्म जिल्लामा ७५३ उजुरी दर्ता भएका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, गरुडाको तथ्यांकअनुसार घरेलु हिंसातर्फ २६८ उजुरी परेका छन्। तीमध्ये कुटपिटका १२७, गालीगलौजका ४३, खानलाउन नदिएको २७, घरनिकालाका २० र धम्कीका १७ घटना छन्।

घरेलु हिंसाका २४२ मुद्दा सहमतिमार्फत समाधान भएका छन् भने पाँच वटा अन्य निकायमा पठाइएको छ। २१ मुद्दा अझै प्रक्रियामै छन्। यस अवधिमा सात जना पुरुष पनि पीडित रहेको केन्द्रले जनाएको छ।

सामाजिक हिंसातर्फ ४८५ उजुरी दर्ता भएका छन्। कुटपिटका २४४, झैझगडा तथा गालीगलौजका १०८, धम्कीका ५१, अपशब्द दुव्र्यवहारका ३०, शान्ति सुरक्षासम्बन्धी ३१ र आर्थिक विवादका २१ घटना छन्।

तीमध्ये ४५२ उजुरी सहमतिमार्फत टुंगिएका छन्, १० अन्य निकायमा पठाइएका छन् र २२ प्रक्रियामै छन्।

कुटपिट, गालीगलौज र धम्कीका घटना उच्च रहनुले समाजमा हिंसात्मक प्रवृत्ति अझै कायम रहेको देखिन्छ। सरोकारवाला निकायले सचेतना, कानुनी कार्यान्वयन र पीडितमैत्री सेवा थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button