तपाईँ सुन्दै हुनुहुन्छः

रामनगर पाझालाई पर्यटन क्षेत्र बनाउने तयारी

बाँके। डुडुवा गाउँपालिकाले वडा नं. १ र २ अन्तर्गत पर्ने रामनगर पाझा क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएको छ। दुर्गम र बाढी प्रभावित यो क्षेत्रलाई धार्मिक र पर्यापर्यटनसँग जोडेर नयाँ पहिचान दिने लक्ष्य राखिएको छ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीका अनुसार ‘स्टेचु अफ शिव’, पार्क र अन्य पूर्वाधार निर्माणका काम सुरु गरिएको छ। यस क्षेत्रलाई धार्मिक तथा पर्यापर्यटन केन्द्रका रूपमा विकास गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।

पर्यटनसँगै शिक्षा र कृषि क्षेत्रलाई सुदृढ बनाउन कृषि विद्यालयको भवन निर्माण पनि सुरु गरिएको छ। डुडुवा–२ स्थित पशुपति माध्यमिक विद्यालयमा कृषि विषय पढाइ सञ्चालन गर्ने उद्देश्यले चार कोठे भवन निर्माण भइरहेको हो।

गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर शुरेन्द्र बर्माका अनुसार करिब ७० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको भवन असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

स्थानीयले यो पहललाई सकारात्मक रूपमा लिएका छन्। पर्यटन र शिक्षाको विकासले आर्थिक गतिविधि बढ्ने र रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

यस योजना सफल भए रामनगर पाझा क्षेत्र बाँकेकै नयाँ सम्भावनायुक्त पर्यटन गन्तव्यका रूपमा विकास हुने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button