बागमतीमा ‘एक जिल्ला एक स्वस्थ सहर’ अभियान सुरु
मकवानपुर। बागमती प्रदेश सरकारले १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने लक्ष्यसहित अभियान सुरु गरेको छ। अभियानअन्तर्गत हेटौँडा उपमहानगरपालिकालाई स्वस्थ सहर बनाउने काम औपचारिक रूपमा अघि बढाइएको छ।
मंगलबार हेटौँडामा आयोजित कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले नगरप्रमुख मिना कुमारी लामालाई “स्वस्थ सहर कार्यक्रम कार्यान्वयन निर्देशिका २०८२” हस्तान्तरण गर्दै अभियान सुरु गर्नुभयो।
जनस्वास्थ्य कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीलाई स्वस्थ सहर निर्माणका लागि आवश्यक योजना र कार्यान्वयनबारे अभिमुखीकरण गरिएको थियो।
कार्यक्रममा हेटौँडाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारी र जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले जिल्लाको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका थिए। विश्व स्वास्थ्य संगठनका प्रदेश अधिकृत हरि भुसालले स्वस्थ सहर निर्माणका उपायबारे प्रस्तुतीकरण गर्नुभयो।
अभियानले स्वास्थ्य मैत्री वातावरण, आधारभूत स्वास्थ्य पूर्वाधार, सरसफाइ र स्वास्थ्य सेवामा पहुँच सुधार गर्ने लक्ष्य राखेको छ।
हालसम्म चन्द्रागिरी, मेलम्ची र हेटौँडामा कार्यक्रम लागू भइसकेको छ भने रसुवाको गोसाईकुण्डमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालनमा छ। काभ्रेको धुलिखेल नगरपालिका यसअघि नै देशकै पहिलो ‘स्वस्थ सहर’ घोषणा भइसकेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्यमा स्वास्थ्य सेवाको योगदान करिब २० प्रतिशत मात्र हुन्छ भने बाँकी प्रभाव जीवनशैली, वातावरण र आर्थिक अवस्थाले पार्ने गर्दछ। बागमतीमा करिब ७० प्रतिशत जनसंख्या सहरमा बसोबास गर्ने भएकाले यो अभियान महत्वपूर्ण मानिएको छ।








प्रतिक्रिया राख्नुहोस्