तपाईँ सुन्दै हुनुहुन्छः

बसभित्र हतियार देखाएर लुटपाट गर्ने चार जना पक्राउ

बाँके। नेपालगञ्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बसभित्र हतियार देखाएर लुटपाट गर्ने समूहका चार जना घटना भएको दुई दिन नबित्दै पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मंगलबार नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रीबसमा सवार यात्रुमाथि ६–७ जनाको हतियारधारी समूहले आक्रमण गरेको थियो। समूहले यात्रुहरूलाई कुटपिट गर्दै नगद, मोबाइल फोन तथा अन्य जिन्सी सामान लुटपाट गरेको थियो।

पीडितहरूबाट नगद ५९ हजार रुपैयाँ, मोबाइल सेट तथा अन्य बहुमूल्य सामग्री लुटेर समूह फरार भएको थियो। घटनापछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।

सोही क्रममा बुधबार प्रहरीले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरूको साथबाट घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल र खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१९ का २४ वर्षीय रामु परियार, वडा नं. ४ का २८ वर्षीय सुवास बिष्ट, २६ वर्षीय संजय क्षेत्री तथा कोहलपुर नगरपालिका–५ का १९ वर्षीय सन्दीप जंग क्षेत्री रहेका छन्।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी जारी रहेको छ। पक्राउ परेकामाथि डाँका तथा लुटपाटसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button